विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा थप एक जना संक्रमितको मृत्यु भएकोछ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएको मोरङ धनपालथान गाउँपालिकाको ५३ वर्षीय पुरूषको शनिबार दिउँसो ११ बजे मृत्यु भएको हो ।
स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको शुक्रबार राती स्वास्थ्यमा थप समस्या आएपछि कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारयण यादवका अनुसार अस्पताल भर्ना हुने क्रममा बिरामीको अवस्था जटिल देखिएको थियो । अस्पताल भर्नापछि स्वाब संकलन गरेर परीक्षण गर्दा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु हुनेको संख्या चार पुगेको छ । हालसम्म मोरङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
यसैगरी शुक्रबार साँझ ६ः३० बजे विराटनगर–११ निवासी ४३ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । न्यूरो अस्पतालबाट रिफर गरिएकी महिलाको प्रादेशिक जनस्वास्थ्य ल्याबमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वीपीमा १८ गते भर्ना गरिएकी महिलामा उच्च रक्तचापको समस्या रहेको प्रवक्ता डा.निदेश सापकोटाद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।