मेचीनगरको धुलाबारी क्याम्पसमा सिटिइभिटीसँगको साझेदारीमा मेचीनगर नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । कलेज सञ्चालनको सम्पूर्ण व्ययभार नगरपालिका आफैंले व्यहोर्ने जनाएको छ ।
कलेजको नाम ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट’ राखिएको छ । आफ्नै भवन र जग्गा नहुञ्जेलसम्म यो प्राविधिक कलेज मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसकै भवनमा सञ्चालन हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले जानकारी दिनुभयो । प्राविधिक शिक्षाको माग बढिरहेको अवस्थामा मेचीनगरमा सरकारी स्तरमा कलेजको सञ्चालन हुन लागेको यो पहिलोपटक हो । यसअघि धुलाबारीमै पाथीभरा इन्स्टिच्युटको नाममा निजी क्षेत्रबाट प्राविधिक कलेज सञ्चालन हुँदै आएको थियो ।
मेचीनगरका नगरप्रमुख विमल आचार्यले यसै वर्षबाट नगरले प्राविधिक कलेज सञ्चालन गर्ने निर्णय भइसकेको बताउनुभयो । सर्वसाधारण नागरिकका छोराछोरीले सर्वसुलभ रुपमा आफ्नै नगरमा रोजगारीमूलक शिक्षा पाउन सकून् भनेर नगरपालिका आफैँ प्राविधिक कलेज स्थापनामा अग्रसर भएको उहाँको धारणा छ ।
धुलाबारी क्याम्पसमा हालसम्म शिक्षा सङ्कायको बिएड, कमर्सको बिबिएस र सिटिइभिटीकै सम्बन्धनमा २०७२ सालदेखि सिभिलतर्फको सब–ओभरसियर विषयको पठनपाठन भइरहेको छ ।
मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युटमा एसइई पास भएर आउने विद्यार्थीले तीनवर्षे प्राविधिक डिप्लोमा तहको दुईवटा विषय अध्ययन गर्न पाउनेछन् । एउटा विषय ‘डिप्लोमा इन आर्टिटेक्चर इन्जिनीयर’ हुनेछ भने अर्को विषय ‘डिप्लोमा इन आइटी इन्जिनीयर’ हुनेछ ।
धुलाबारी क्याम्पससँग सहकार्य
प्राविधिक कलेज सञ्चालनका लागि मेचीनगर नगरपालिका र सिटिइभिटीबीच साझेदारीको सम्झौता भइसकेको छ । यसैगरी नगरपालिकासँग सहकार्य हुने गरी धुलाबारी क्याम्पसले पनि औपचारिक रुपमा सहमति प्रदान गरिसकेको छ ।
प्राविधिक कलेज स्थापनाका लागि सिटिइभिटीले नगरपालिकालाई आफ्नै स्वामित्वमा कम्तीमा पाँच बिघा जग्गा र आफ्नै भवन हुनुपर्ने सर्त राखेको थियो । नगरभित्रका शिक्षालयहरुको अभिभावक संस्था नगरपालिकाले धुलाबारी क्याम्पसको भव्य भवन र पर्याप्त जग्गालाई कलेज बनाउनयोग्य ठहर ग¥यो । त्यसपछि प्रक्रियागत रुपमा धुलाबारी क्याम्पसले आफ्नो सात बिघा जग्गामध्ये पाँच बिघा जग्गा प्राविधिक कलेजका लागि प्रदान गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।
“धुलाबारी क्याम्पसलाई प्राविधिक कलेजमा रुपान्तरण गर्न हामीले पहिल्यैदेखि प्रयास गर्दै आएका थियौँ”, पौडेलले भन्नुभयो, “नगरपालिकाले गरेको प्रयास आम नगरवासीको हितमा हुने ठानेर क्याम्पसले सहकार्यको प्रस्तावमा सहमति जनाएको हो ।” प्राविधिक कलेज सञ्चालनको अनुमति आइसकेपछि यसै वर्षदेखि पढाइ चालू गर्न नगरपालिका र धुलाबारी क्याम्पसले गृहकार्य अघि बढाइसकेका छन् ।
नगरपालिकाको बोर्डले यसै साता नगरप्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्ष रहनेगरी नौ सदस्यीय कलेज सञ्चालक समिति गठन गरिसकेको छ । समितिको सदस्यसचिवमा नगरका शिक्षा शाखाप्रमुख रहने र सदस्यमा नगरको सामाजिक विकास समितिका अध्यक्ष, मेचीनगर–१० का वडाध्यक्ष, धुलाबारी क्याम्पसका प्रमुख, धुलाबारी क्याम्पसका अध्यक्ष, प्रोग्राम को–अर्डिनेटर र सिटिइभिटीका प्रतिनिधि रहने निर्णय भइसकेको छ । पोलिटेक्निक इन्स्टिच्युटले आर्किटेक्टमा ४८ र आइटी इन्जिनीयरमा ४८ गरी जम्मा ९६ जनाको कोटा पाएको छ । यो कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्न पाइने छैन । यसमा गरिब, पिछडिएको समुदाय र बढी अङ्क ल्याउने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थासमेत हुनेछ ।
विद्यार्थीको भर्ना खोल्ने, प्रवेश परीक्षा लिने र भर्ना गर्ने काम सिटिइभिटी आफँैले गर्ने भएको छ भने मेचीनगर नगरपालिकाले भौतिक पूर्वाधार, प्रयोगशाला र अन्य वातावरण तयार पार्ने जिम्मेवारी लिनुपर्नेछ । सञ्चालक समितिले शिक्षक र कर्मचारीको नियुक्ति गर्ने बताइएको छ ।