विराटनगर । विराटनगरका दुई निजी अस्पतालले कोरोना संक्रमित उपचारका लागि सरकारी अनुदान प्राप्त गरेका छन् । सरकारले नागरिकको उपचारका लागि सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा समेत निःशुल्क सेवा उपलब्ध गराउने प्रवन्ध मिलाएको हो ।
प्रदेश सरकारले कोरोना संक्रमित नागरिकको उपचारका लागि निजी लगानीको न्यूरो अस्पतालसँग सम्झौता गरेको छ ।सामाजिक विकास मन्त्रालयले मंगलबार न्यूरो अस्पताल प्रशासनसँग सम्झौता गर्दै लक्षण तथा जटिल समस्या भएका कोरोना संक्रमितको उपचार गर्ने बाटो खोलेको छ ।
प्रदेश १ मा लक्षणसहितका संक्रमितको उपचारका लागि दुई सरकारी तथा दुई निजी अस्पतालमा सेवा विस्तार गरिएको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार निजी अस्पताल न्यूरोसँग सम्झौता गरिएको हो ।
सम्झौता गरिएसँगै सरकारले सञ्चालनमा ल्याएको संस्थागत आईसोलेशन, व्यक्ति आफैं बसेको होम आईसोलेशन र संक्रमितले छनौट गरेर बसेको होटल आईसोलेशनका नागरिकमा कोरोनाका कारण जटिल समस्या उत्पन्न भए निजी तथा सरकारी अस्पतालमा भर्ना गरेर उपचार गरिने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँग यस अगाडी नै सम्झौता गरेको थियो । त्यहि मापदण्डमा टेकेर प्रदेश सरकारले न्यूरो–कार्डियो मल्टिस्पेशियालिटीले सञ्चालनमा ल्याएको कोभिड अस्पतालबाट उपचार सुरुवात गर्न लागेको हो ।
सम्झौता अनुसार सामान्य लक्षण देखिएर भर्ना गरिएको एकजना बिरामीको प्रतिदिन दुई हजार, मध्यमस्तर तर आईसीयूमा राख्नुनपर्ने अवस्थाका बिरामीको प्रतिदिन सात हजार र जटिल समस्या भई आईसीयू वा भेन्टिलेटर प्रयोग गर्नुपर्ने बिरामीका लागि प्रतिदिन पन्ध्र हजार रुपिँया सरकारले अनुदान वापतको रकम अस्पताललाई उपलब्ध गराउने छ ।
सचिव कार्कीका अनुसार संक्रमितको अवस्था कस्तो रहँदा अस्पतालमा भर्ना गरियो भन्ने अनुगमनका लागि सरकारले फोकल पर्सन समेत खटाउने छ । लक्षणबिहीन संक्रमित राखेर निजी अस्पतालले अनुदान लिनसक्ने संभावनालाई ख्याल गर्दै सरकारी सेवाका स्वास्थ्य जनशक्तिलाई निजीमा फोकल पर्सनको रुपमा परिचालन गर्न लागिएको हो ।
न्युरोले विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई गत ११ भदौबाट कोभिड अस्पतालमा परिणत गरिसकेको छ । न्युरोको कोभिड अस्पतालले पनि आज ९बुधबार० बाट संक्रमितको उपचार निःशुल्क सुरु गरेको न्यूरो अस्पतालका अस्पताल डाइरेक्टर रञ्जितराज बस्नेतले जानकारी दिनुभयो । न्यूरोले ५५ बेडको कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । जसमा ४७ वटा बेड जनरल, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर रहेको अस्पतालले जनाएको छ ।
वीपी र कोशीको कोभिड उपचार केन्द्रसँगै विराट र न्यूरोको कोभिड अस्पतालले लक्षणसहितका संक्रमित मात्रै भर्ना गर्न पाउने छ । सचिव कार्कीका अनुसार विशेष गरेर आईसोलेशनमा बसिरहेका संक्रमितको तत्काल उपचार व्यवस्थाका लागि यी अस्पतालहरु २४ घण्टा सेवारत रहनु पर्नेछ ।
प्रदेश सरकारले एक हजार शैयाको सरकारी आईसोलेशनका लागि पनि थप होटल तथा पार्टी प्यालेससँग सम्झौता गर्ने तयारी थालेको छ । सार्वजानिक सूचना निकालेर प्रस्ताव आह्वान गरिएको सचिव कार्कीले जानकारी दिनुभयो । अहिले भईरहेका संस्थागत आईसोलेशनले मात्रै संक्रमितको भारलाई थेग्न नसक्ने भएपछि सरकारले विराटनगरमा एक हजार बेड क्षमताको आईसोलेशन विस्तार गर्ने काम सुरु गरेको हो ।
यस अगाडी होटल एशियाटीकलाई आईसोलेशन सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको थियो । एशियाटीकको आईसोलेशनमा बस्ने संक्रमित नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी सरकारले लिने भएपनि त्यहाँ बसेको रकम अनुदान वापत भरण हुने छैन । बिरामी आफैंले छनौट गरेर होटलमा बसेको हुनाले आफैंले खर्च बेहोर्नुपर्ने हुन्छ ।
आईसोलेशन छनौट गरेर बस्नसक्ने क्षमता भएकाहरुले बुझाएको रकम सबै नागरिकले बुझाउन सक्दैनन्, सचिव कार्कीले भन्नुभयो–त्यसका लागि सरकारले संस्थागत लगानीमा आईसोलेशन सञ्चालनमा ल्याउने छ । यसरी सञ्चालनमा ल्याइएका आईसोलेशनमा बसेका नागरिकको दैनिक जीवन व्यवस्थापनको जिम्मेवारी समेत सरकार आफैंले लिनेछ ।