विराटनगर । उचित व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिको दुरदर्शितापूर्ण निर्णयका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र कोरोनामुक्त भएको छ।
५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन।
साउन १९ गतेका दिन रङ्गेलीमा समुदायमा एकै पटक २२ जनालाई संक्रमण पुष्टि भएको थियो । यसमा विद्युत् प्राधिकरणका ५ कर्मचारी र अस्पतालका २ स्वास्थ्यकर्मी थिए। बाँकीमध्ये १४ जना एकै परिवारका थिए ।
यी संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा साउन २३ गते ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये १८ जना बजार क्षेत्र वडा नम्बर ७ का रहेका थिए ।
रङ्गेलीमा साक्षरता दर अत्यन्त न्यून रहेको छ। रङ्गेलीमा आधुनिक साधनस्रोत सम्पन्न अस्पताल र स्वास्थ्य क्लिनिक पनि छैनन्। प्रदेश नम्बर १ को राजधानी विराटनगरको तुलनामा रङ्गेली पिछडिएको क्षेत्र मानिन्छ। पिछडिएको क्षेत्र हुनमा प्रदेश राजधानी समेत भएको विराटनगरलाई अपजस आईलाग्छ ।
नगरपालिकाका प्रमुख दिलिप बगडियाको मनोबल र उच्च व्यवस्थापकिय क्षमताका कारण रंङ्गेलीले समुदायस्तरको कोरोना संक्रमणको फैलावटलाई ३० दिन नबित्दै नियन्त्रणमा लिन सकेको छ । नगरवासीको सतर्कता, कडा लकडाउन, क्वारेन्टाइन र आइसोलेसनका कारणले नै रंगेली कोरोना मुक्त बन्न सकेको हो ।
चैतको सुरुवातदेखि नै भारतबाट औपचारिक वा लुकिछिपी, जसरी आउन थालेका थिए । नगरपाकिलाले ती नागरिकको खोजि गरेर क्वारेन्टीनमा राख्दै आयो । उनीहरुको पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि पनि होम आईसोलेशनमा राखियो ।
नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि साउन १९ गते तत्काल कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक बसेर जनता क्याम्पसमा २ दिन आइसोलेसनमा राखिएको थियो । दुई दिनपछि संक्रमितमध्ये १५ पुरुषलाई प्रदेश सरकारले गोठगाउँमा बनाएको आइसोलेसन र ७ महिलालाई धरानस्थित बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको रंगेलीका मेयर बगडियाले बताउनुभयो ।
सीसीएमसीको बैठकले साउन १९ गतेदेखि नै नगरपालिकालाई आंशिक रूपमा सिल गर्ने निर्णय गरेको थियो। जसमध्ये वडा नम्बर ७ लाई पूरै सिल गरियो भने ४, ६ र ८ लाई आंशिक सिल गरिएको थियो ।
सिल गरिएका क्षेत्रमा ‘घरबाट कसैलाई निस्कन दिएन । यो कडा लकडाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय व्यवसायी र नागरिक सबैको सहयोग रहेको थियो ।
नगरपालिका यतिमै रोकिएन, मेयर बगडियाले भन्नुभयो– सिल गरेका वार्डमा कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी खटाइयो। साउन १९ गते पुष्टि भएका संक्रमित २२ जनाकै घरका र उनीहरूको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरियो। यसपटकको परीक्षणमा साउन २२ गते ३१ जनाको पोजिटिभ रिपोर्ट आयो।
योसँगै नगरपालिकाले स्थानीय जनता क्याम्पसलाई आइसोलेसन सेन्टर बनायो र संक्रमितलाई त्यहीँ राख्ने निर्णय गर्यो। लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदको साउन २५ को बैठकले जनता क्याम्पसमा १ सय शय्याको आइसोलेसन बनाउनलाई स्वीकृति प्रदान गर्यो। प्रदेश सरकारले आइसोलेसन सञ्चालनका लागि १५ लाख रुपैयाँ पनि प्रदान गर्यो।
आइसोलेसन सञ्चालनको नेतृत्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोहेन्द्र पाण्डेले गर्नुभयो। आइसोलेसनमा २ हेल्थ असिस्टेन्टलाई २४ सै घण्टा खटाइयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चाहिएजति पीपीई उपलब्ध गराएको थियो ।
आइसोलेसनमा बस्ने सबैलाई साँझ–बिहान चिया–बिस्कुट तथा दुबै छाक खानाको व्यवस्था नगरपालिकाले नै गर्यो। नगरपालिकाले आफ्नै रेखदेखमा सञ्चालन गरेको क्यान्टिनबाट स्वस्थकर खाना आपूर्ति गरेको थियो । सबै संक्रमितलाई पानी तताउने जग र ग्लास निःशुल्क दिइयो। एक जनालाई दिनको ४ बोतल पिउने पानी पनि उपलब्ध गराइयो।
कन्ट्याक्ट ट्रेसिङलाई तीव्र बनायौँ, प्रमुख बगडिया भन्नुभयो– पछिल्लो चरणमा हामीले ४ सयको कन्ट्रयाक्ट ट्रेसिङ गर्यौं। कसैको रिपोर्ट पोजिटिभ आएन। भदौ १७ गतेपछि कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन । परीक्षण त जारी छ तर कसैलाई पनि संक्रमण पुष्टि भएको छैन, मेयर बगडियाले भन्नुभयो अहिले विदेशबाट पनि कोही आएका छैनन्। कोही आइहाल्यो भने नगरपालिकामा तुरुन्त खबर आउने गरी हामीले संयन्त्र र सञ्जाल बनाएका छौँ।
चैतदेखि हालसम्म नगरपालिकाले नगर क्षेत्रका २ हजार ५ सयको पीसीआर परीक्षण गराएको छ। जसमध्ये १ सय २५ जनाको पोजिटिभ देखिएको थियो।
नगरपालिकाले नगर क्षेत्रलाई बिहान १० बजे, मध्याह्न १२ बजे गर्दै भदौ २३ गतेदेखि साँझ ७ः०० बजे सम्म खोल्न स्वीकृति दिएको छ। रङ्गेलीको अहिलेको जनजीवन सामान्य भएको मेयर बगडियाले दावी गर्नुभयो ।
सचेतना, सतर्कता, मास्क, भौतिक दूरी, सरसफाइ आदि सबै नियमलाई कडाइका साथ अवलम्बन गर्नु आवश्यक रहेको मेयर बगडियाको सुझाव छ ।