उदयपुरका स्थानीय तह कोभिड अस्पताल बनाउन जुटे

उदयपुरका स्थानीय तह कोभिड अस्पताल बनाउन जुटे

उदयपुर । कोरोना भाइरसको संक्रमण भएकाहरुलाई उपचार गर्नको लागि उदयपुरका स्थानीय तह कोभिड अस्पताल निर्माणमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरुको साझेदारीमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा कोभिड अस्पताल निर्माण थालिएको हो ।

अस्पताल निर्माणको लागि ३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने तयारी छ । स्टिल फ्रेम स्ट्रक्चरमा निर्माण हुने १४ कोठे अस्पतालमा ४० शय्या रहने जनाइएको छ । स्थानीय स्तरमै संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो ।

अस्पतालमा ८ वटा भेन्टिलेटर राख्ने तयारी छ । अस्पतालमा ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी तथा डाक्टर रुम बन्नेछ । आगामी २ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५–१५ लाख तथा रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले गाउँपालिकाले १०–१० लाख लगानी गर्ने भएका छन् । अस्पताललाई स्विस सरकारले पनि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

अस्पताल बनिरहेको करिब ४ बिघा जमिनमै अहिले आइसोलेसन केन्द्र सञ्चालनमा छ । आइसोलेसनबाट अहिलेसम्म ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्