विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् ।
उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेशिन आवश्यक पर्दछ । पीसीआर मेशिनमा स्वाब परीक्षण गर्नु अगाडी आरएनए एक्स्ट्राक्सन मेशिनको प्रयोग गर्नुपर्ने हुन्छ ।
महानगरपालिकाका प्रमुख पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गर्नुभएसँगै परीक्षणको दायरा फराकिलो हुने अपेक्षा राखिएको छ । निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु. ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।
यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न सकिने दावी गरिएको छ ।
महानगरले यसअघि एक थान पिसिआर मेशिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेशिनबट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने अपेक्षा राखिएको बताउनुभयो ।