तीनसय महिलाको धितो राखेको सुनका गहना लिएर दम्पती फरार

तीनसय महिलाको धितो राखेको सुनका गहना लिएर दम्पती फरार

विराटनगर। मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । दश दिनअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो । आफूले धितो राखेको सुन उकास्ने योजनामा रहनु भएकी निरौला त्यसपछि झसङ्ग हुनुभयो, जब चन्दा ज्वेलर्सका सञ्चालक चन्दन र सङ्गीता धितो राखेको सुन लिएर बेपत्ता भएको खबर थाहा भयो ।

बुढीगङ्गा ३ बाँसवारीकी राधा बरालले पनि ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिनु भएको थियो । भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द गरेर सञ्चालक भागेको थाहा पाउनु भएको हो ।

ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी लिएर भागेका हुन् ।
उनीहरु भागेसँगै धितोमा सुन राख्ने निरौला र बराल जस्ता तीन सय महिलाहरुको गरगहना समेत हराएका छन् । उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ छ । दुबैले आआफ्नो फेसबुक डियाक्टिभ गरेको छन् ।

पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’–मा सुनचाँदी धितो राखेर नगद ऋण लिएका थिए । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।
लकडाउनका कारण घरमा आर्थिक समस्या भएपछि ऋण लिनुपरेको राधाको भनाइ छ । चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको २४ प्रतिशत ब्याज लिने गरेको पीडितले बताए ।

बेपत्ता दम्पतीले देशका अन्य कुनै ठाउँमा यस्तै पसल खोल्न सक्ने आशङ्का गरेर प्रहरीले छानबिन गरिरहेको डिएसपी राईले जानकारी दिए। सिमाना सिलबन्दी भएका बेला उनीहरू सपरिवार भागेर भारततर्फ जानसक्ने सम्भावना प्रहरीले क्षीण देखेको छ ।

विराटनगरबाट यसअघि २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैंकले लिलाम गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्