मोरङको ग्रामथानमा आमा र दुई छोरीको माछा पोखरीमा डुबेर मृत्यु

मोरङको ग्रामथानमा आमा र दुई छोरीको माछा पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका हुन् ।
पोखरीमा दुई छोरी डुबेपछि सीता उद्दार गर्न गएकी थिइन् । दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पस्दा उनी पनि डुबेकी हुन् । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिएको छ ।

प्रहरीका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी हुन् ।
माइती घरमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । त्यहि पोखरीको रेखदेख गर्ने जिम्मा उनले पाएकी थिइन् । उनीहरु पोखरीमा डुबेको जानकारी परिवारले समेत साँझमा मात्रै थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरेर बेलुका पोखरीबाट लास निकालिएको थियो ।

प्रहरीले राति ८ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको थियो । प्रहरीले मृतकमध्ये कान्छी छोरीले कपडा नलगाएको र १३ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्था देखिनु र आमा कपडामै भेटिनुले डुबेरै मृत्यु भएको प्रारम्भिक अनुमान गरेको छ ।
बेलबारीका प्रहरी निरीक्षक ढकालले घटनाको थप अनु्सन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्