किशोरीलाई भारतमा बेचबिखन गर्न लगेको आरोपमा विराटनगरबाट तीन पक्राउ

किशोरीलाई भारतमा बेचबिखन गर्न लगेको आरोपमा विराटनगरबाट तीन पक्राउ

विराटनगर । सुनसरीबाट एक किशोरीलाई भारत लिएर हिँडेका तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएपनि प्रहरीले भने घटनाको पुष्टि गर्ने पर्याप्त आधार तयार भईनसकेको बताएको छ ।

प्रारम्भिक तहकै अनुसन्धानमा प्रहरीले घटनालाई गम्भीर प्रकृतिको मानेको छ । किशोरीलाई भारत लैजाने योजनामा रहेका सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुनिलकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाललाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुमध्ये सुनिलकुमार घटनाका मुख्य योजनाकार रहेको र उनीसहित तीनजनालाई नियन्त्रणमा लिएसँगै किशोरीको उद्धार समेत भएको छ । उनीहरुले सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लैजाने तयारी गरेका थिए । सोमबार साँझ किशोरीलाई प्रहरीले सीमा क्षेत्रबाट उद्धार गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा मुख्य योजनाकार सुनिलकुमारलाई प्रदीप र मनिकाले सहयोग गरेका हुन् । मनिकाले झुम्कामा आफ्नै छिमेकी किशोरीलाई फकाएर सुनिलसम्म पु¥याउने भूमिका निर्वाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मनिकाले आइतबार बिहान ७ बजेतिर किशोरीलाई फकाएर विराटनगर ल्याएकी हुन् ।
विराटनगरबाट जोगवनी हुँदै गाडीमा फारबिसगञ्ज पु¥याउने योजनामा उनीहरु रहेको अनुमान गरिएको छ । त्यहि बेला मानव बेचबिखनका लागि लगिएको हुनसक्ने भन्दै उद्धारमा सहयोगी बनेको साना हातहरु नामक संस्थाको पहलमा प्रहरीले किशोरीको उद्धार र बाँकी तीनजना नियन्त्रणमा लिएको थियो ।

मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले घटनाको विषयमा थप अनुसन्धान गर्नुपर्ने भएको बताउनुभयो । उहाँले भारतमा सम्पर्कमा आउने भनिएका व्यक्ति को थिए ? भन्ने कुरा यकिन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा सुनिलका भिनाजु रन्दीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्दै आएका व्यक्ति भएको खुलेको छ । उनैले किशोरी मगाएकोले सुमितले दुईजना सहयोगीसहितको योजनामा लिएर गएका हुनसक्ने बताइएको छ ।

सुनिलकुमार र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने शर्तमा १२ लाखको लेनदेन सहमति भएको थियो । त्यहि रकमबाट किशोरी फकाउने मनिका र सहयोग गर्ने प्रदिपलाई भागबण्डा गर्ने सुनिलकुमारले योजना बनाएको प्रहरीको दावी छ ।
एसपी खड्काले घटनामा संलग्नहरुको विषयमा अहिले नै यकिन भन्न नसकिने र समयमै उद्धार तथा नियन्त्रणको पहल लिनसक्नु नै महत्वपूर्ण कुरा भएको बताउनुभयो । घटनाको प्रकृति हेर्दा मानव बेचबिखन तथा ओसार पसार जस्तो देखिने भएकोले अनुसन्धान त्यहिं केन्द्रीत गरिएको एसपी खड्काले बताउनुभयो । उहाँका अनुसार मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अनुसार तीन जना विरुद्ध मुद्दा चलाउन मंगलबार म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्