इस्लामपुर नाकाबाट जोगबनी पुग्न थाले नेपाली, पक्राउ गर्दै क्वारेन्टाइनमा राख्दै प्रहरी

इस्लामपुर नाकाबाट जोगबनी पुग्न थाले नेपाली, पक्राउ गर्दै क्वारेन्टाइनमा राख्दै प्रहरी

प्रेम देवान

विराटनगर । सार्वजानिक यातायात खुलेसँगै सीमा पार जोगबनी बजारमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गरेर नेपाल फर्कनेहरुको लर्को लाग्न थालेको छ । लकडाउन घोषणासँगै चैत ११ गतेयता भारतसँगको खुल्ला सीमा सिल गरिएको छ । सरकारले वैधानिक रुपमा तोकेको नाकालाई समेत छल्दै नेपाली उपभोक्ता सीमापार जोगबनी बजारसम्म आउजाउ गर्न थालेका हुन् ।

सीमा बसेका प्रहरीको समेत आँखा छलेर विराटनगर हुँदै सीमापार बजार जोगबनी पुग्ने गरिएपछि फर्कनेहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने तयारी समेत सुरु गरिएको छ । प्रहरीले सीमापार जोगबनी पुगेर सामान खरिद गरेर आउनेलाई भेट्टाएमा १४ दिनसम्म सीमा क्षेत्रकै क्वारेन्टाइनमा राख्ने भएको हो ।
प्रहरीको आँखा भारतीय बजार पुग्ने र सामान खरिद गरिसकेपछि नेपाल फर्कनेहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको छ । सरकारले प्रदेश १ का अन्तर्गतको मोरङ रानी, सुनसरीको भन्टावरी, झापाको काकरभिट्टा र इलामको पशुपतीनगर नाकाबाट मात्र आवतजावत गर्ने स्वीकृति दिइएको छ । यी नाका प्रयोग गर्न समेत स्थानीय प्रशासनको सिफारिस अनिवार्य छ ।

 

सरकारले तोकेको नाका बाहेक सुरक्षाकर्मीको आँखा छल्दै आवतजावत गर्नेलाई दुई साता क्वारेन्टाइनमा राखिने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो । भारतसँग सिमा जोडिएको मोरङमा ६३ किलोमिटर रहेको छ । जसमा ३६ वटा नाका छन् । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्यदेखि विभिन्न सामाग्री खरिद गर्न उपभोक्ताहरू भारतीय सिमावर्ती बजार जाने क्रममा बढेको छ ।
भारतमा तिब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि नेपालीहरू भने जोगबनी जान थालेका हुन् । संक्रमणको जोखिम अझै धेरै हुनसक्ने भएकोले किनमेलमा गएर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा दुई साता राखेपछि पीसीआर परीक्षणपछि रिपोट नेभेटिभ आए घर जान दिइने बताउनुभयो । पोजेटिभ आएको खण्डमा आइसोलेनमा राखेर उपचार हुन्छ । तर, यसरी किनमेल गर्न गएर फर्कनेहरुको परीक्षण तथा अन्य शिर्षकमा लाग्ने खर्च स्वयम् व्यक्तिले बेहोर्नुपर्ने हुन्छ ।

विराटनगर–१७ को इस्लामपुरबाट धेरै संख्यामा नेपाली नागरिक जोगबनी पुग्ने गरेका हुन् । भारतबाट नेपाल आउनेहरुले समेत यो नाकालाई धेरै प्रयोग गर्ने गरेका छन् । जोगबनी पुगेर सामान किनेर इस्लामपुर नाका हँदै नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि भागाभाग समेत मच्चिने गरेको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर अनिवार्य क्वारेन्टाइनमा राख्ने योजनासहित बुधबारदेखि खुल्ला रहेका सहायक नाका र छिद्रहरुमा कडाई गरेको छ । चोरबाटो हुदै गएर फर्किनेहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा लैजान सशस्त्र प्रहरी बल बिओपी रानीले इस्लामपुर नाकामा गाडी लिएर बस्न थालेको छ ।

सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक मौसम पोखरेल नेतृत्वको टोली परिचालित भएको छ । बुधबार मात्रै २ सय संख्यामा रहेका नेपालीहरु भारतीय बजार जोगबनी पुगेर इस्लामपुर नाकाबाट भित्रन खोजेका थिए । उनीहरुलाई सशस्त्रले पक्रन कोशिस गरेपछि भागेर भारततिरै पसेका थिए भने कतिपयले खरिद गरेर ल्याएको सामान छोडेर भागेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्