विराटनगर बखरीबाट घरेलु मदिरा बनाउने कच्चा पर्दाथ सहित ३ जना पक्राउ

विराटनगर बखरीबाट घरेलु मदिरा बनाउने कच्चा पर्दाथ सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर–१२ बखरीस्थित मंगलबारे बस्तीमा मोरङ प्रहरीले छापा हानेर ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले मदिरा उद्योगमा छापा हानेर तीन गाडी मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुँडा बरामद गरेको हो ।


प्रहरीले कच्चापदार्थसहित विराटनगर १२ का कृष्ण तामाङ, शान्ता आले र लक्ष्मी राईलाई पनि पक्राउ गरको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
बरामद भएको कच्चा पदार्थ करिब ‘दुई टन’ बराबर रहेको प्रहरीको अनुमान छ । प्रहरीले उनीहरूसहित एक दर्जन घरहरूमा मदिरा बनाउने ठाउँमा छापा मारेको थियो ।

अवैध रूपमा बस्तीमा घरेलु मदिरा व्यवसायिक रूपमा उत्पादन भइ विक्री वितरण हुने गरेको बिशेष सूचना आएको थियो, एसपी खड्काले भन्नुभयो, ‘चाडपर्ब लक्षित सुरक्षा योजना अनुसार मदिरा र मदिरा बनाउने ठूलो परिमाणमा कच्चा पदार्थ बरामद भएको हो ।’ उहाँको अनुसार जिल्लाभरी अवैध घरेलु मदिरा नियन्त्रण अभियान सुरु भएको छ । प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा खटिएको प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट गएको टोलीले घरेलु मदिरा बनाउने उद्योगमा छापा हानेको थियो । पक्राउ परेकाहरूको घरमा प्रहरीले छापा हानेर मदिरा र मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुँडाहरू बरामद गर्न थालेपछि अन्य मदिरा बनाउनेहरूको भागाभाग भएको थियो ।

शान्ता आलेको मदिरा उद्योगमा प्रहरीले छापा हानेर मदिरा बरामद गरेपछि अन्य छिमेकीहरू घरमा ताला लगाएर फरार भएका थिए । त्यसपछि जनप्रतिनिधि र स्थानीयको रोहबरमा फरार भएकाहरूको घरको ताला फोडेर प्रहरीले मदिरा बरामद गरेको हो । फरार भएका घरधनीहरूको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि विराटनगर १२ बाट व्यवसायिक रुपमा घरेलु मदिरा उत्पादन गरि बिक्री गर्ने घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र भाँडाकुँडाहरु बरामद गरेको थियो । प्रहरीले बरामद गरेको भाँडाकुडा, कच्चा पदार्थ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्