तस्करका सहयोगी प्रहरीलाई एसपीको झापड र निलम्बन

तस्करका सहयोगी प्रहरीलाई एसपीको झापड र निलम्बन

विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन ।

दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रहरी कार्यालय रानीका हवल्दार केशव कार्की र जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएका अनिश खान निलम्बनमा परेका हुन् ।

तस्करीको लाइन चलाउने जगदीश (रबि) र नरेश साहसँगको सेटिङमा मटर कटाउन कार्की र खानको संलग्नता पनि प्रहरी संगठन भित्रैबाट खुलेको हो । संलग्नता खुलेपछि कारवाहीका लागि समेत कडा कदम चालिएको छ ।

यस्तो थियो तस्कर–प्रहरी कनेक्सन

असार १४ गते इलाका प्रहरी कार्यालय रानी अन्तर्गतको दरैया पोष्टमा प्रहरी जवान तेजनारायण श्रेष्ठ डिउटीमा रहेका थिए । राती १२ बजेको समयमा मटर बोकेको ट्याक्टर दरैया पोष्टकै बाटोबाट भारत जाने भएपछि श्रेष्ठले रोके । तत्काललै इप्रका रानीको सञ्चारमा डिउटीमा खटिएका जवान निश्चल मगरलाई थप मद्दतका लागि फोर्स चाहिएको जानकारी गराए ।

सञ्चारले सादा पोशाकमा डिउटीमा खटिएका हवल्दार कार्कीलाई तत्काल थप मद्दतका लागि खबर आएको जानकारी गरायो । हवल्दार कार्कीले भने रानीका प्रहरी निरीक्षकलाई खबर नगरी जिल्लाबाट सादा पोशाकमा खटिएका सिपाही अनिश खानलाई भने । हवल्दारले सिपाहीसँग ‘थप टोलि खटि जाने की नजाने’ भनेर सोध्दा सिपाहीले– नजाने, कुरा मिलिसकेको छ भन्ने जवाफ दिए ।
प्रहरीकै पोष्ट अगाडीबाट तस्करले एक ट्याक्टर हरियो मटर कटाएको सुचना एकाएक बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुवैजनालाई निलम्बन गरिएको थियो ।

सोधपुछमै एसपीको झापड

लकडाउनको समयमा समेत तस्करी हुन्छ भन्ने विशेष सुचना प्रदेश १ प्रहरी कार्यालय अन्तर्गतको विशेष ब्यूरोले पाएको थियो । जसरी पनि मटर पक्राउ गर्ने योजनासहित प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय रानीको टोलि दरैया नाका खटिएको थियो ।
दरैया नाका हुँदै राती मटर कटाउने तयारी भईरहेकै बेला उक्त टोलिले ट्याक्टरसहित मटर बरामद ग¥यो । मटर तस्करीमा संलग्न रबि र नरेशले त्यसको अघिल्लो रात समेत हवल्दार कार्की र खानसँगको सेटिङमा भारत कटाएको पोल खुल्यो ।

प्रहरी पोष्टकै अगाडीबाट संस्थागत तस्करी गराउन प्रहरीकै संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालयले तत्काल अनुसन्धान गरि निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशनसहितको लिखित पत्र पठायो ।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले संलग्नता देखिएका कार्की र खानसहित प्रकरणमा जोडिएकाहरुसँग सोधपुछ गरेका थिए । त्यस क्रममा कमाण्ड भुलेको भन्दै कार्कीलाई र सिपाही भएर हवल्दार चलाउने भन्दै खानलाई कार्यकक्षमै झापड समेत हानेको स्रोतले दावी गरेको छ ।

उनीहरुसँगको बयानमा तस्करीको लाइन चलाउनेसँग एसपीको समेत नाम जोडेर रकम असुल्ने गरेको पाइएपछि झापडसहित निलम्बन गरिएको हो । प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार असार २५ गतेदेखि लागु हुने गरि निलम्बनमा राखेर उनीहरुमाथि अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुखले मातहतका प्रहरीलाई छ महिनासम्म निलम्बन गर्नसक्छन् । एसपी खड्काले निलम्बन गरेका हवल्दार कार्की र सिपाही खानको निलम्बन फुकुवा कहिले हुन्छ भन्ने स्पष्ट भईसकेको छैन । प्रदेश प्रहरीमा पहुँच राख्दा १० दिनमा पनि हुने नत्र जिल्लाको अधिकार अनुसार छ महिनासम्म रहिरहन पनि सक्ने प्रहरी स्रोतले बताएको छ ।

तस्करी नियन्त्रणमा कठोर कदम

इलाका, जिल्ला र प्रदेश प्रहरीबाट सादा पोशाकमा खटिएकाहरुले तस्करी गर्नेहरुसँग लाइन मिलाएर हप्तावारी असुल्ने गरेको आरोप लाग्दै आएको छ । सादा पोशाकमा खटिएका जिल्लाका सिपाहीले इलाका प्रहरीबाट खटिएका त्यो भन्दा माथिल्लो तहका प्रहरीलाई समेत सिधै निर्देशन दिएर लाइन चलाउन सक्ने क्षमता समेत राख्ने गर्दछन् । जिल्लाको एसपीले परिचालन गरेको सिपाही इलाकाबाट खटिएको हवल्दार भन्दा शक्तिशाली देखिन्छ ।

नेपाल–भारत खुल्ला सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्ने योजना राखेका एसपी खड्काले भने लाइन चलाउन नदिने भन्दै कडाईपूर्वक मातहतमा सर्कुलर गरिसकेका थिए । तर, लाइन चलाउने तस्करसँग माथिल्लो ओहोदाका प्रहरीलाई समेत रकम दिनुपर्ने भन्दै सादा पोशाकले असुल्ने गरेको रहस्य बाहिरिएको थियो ।

यो पोल खुलेपछि एसपी खड्काले तस्करी नियन्त्रणमा कठोर कमद चाल्ने भन्दै मोरङका अन्य नाकामा समेत निगरानी बढाउन थालेका हुन् । तस्करीमा संलग्न भएको आरोपमा मातहतका प्रहरी कारवाही गरिएको अहिलेसम्मको कठोर कदम मानिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले संलग्नता आरोपमा दुई जनालाई निलम्बन गरेर अनुसन्धान भईरहेको बताउनुभयो । उनीहरु दुईजना हुन् बाँकी चाँहि त्यसै विषयमा निलम्बनमा छैनन्, प्रवक्ता राईले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्