विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक : मुख्यमन्त्री राई

विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले दावी गर्दै यस्तो बताउनु भएको हो ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिमको बिहीबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको दावी गर्नुभयो । शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ, मुख्यमन्त्री राईले भन्नुभयो– डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्ष भित्रमा प्रदेशबाट किताब र झोला मुक्त गरिने लक्ष्य अनुसार काम भईरहेको बताउनुभयो । कोरोनाका कारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताब र झोला मुक्तप्रदेश चाँडै हुने दावी गर्नुभयो । पहिलो चरणमा ६ वटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचनाप्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगर पालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की लगायतले प्रविधि अनलाईन तालिमले शिक्षण सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरी शनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्