आरसी कोलाका ७ प्रकारका उत्पादन बजारमा; कोरोना महामारी, लकडाउन र निषेधाज्ञाले उत्पादनमा ढिलाई

आरसी कोलाका ७ प्रकारका उत्पादन बजारमा; कोरोना महामारी, लकडाउन र निषेधाज्ञाले उत्पादनमा ढिलाई

विराटनगर । अमेरिकन ड्रिङ्क्सका रूपमा नाम कमाएको आरसी कोलाका ७ प्रकारका नेपाली उत्पादन बजारमा आउन थालेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सुनाचुरीमा स्थापित भेन्चुरा बोटलर्स प्रालि नामको उद्योगले ७ प्रकारका उत्पादन बजारमा पठाएको हो ।
भेन्चुरामा उत्पादित चियो पेयमा आरसी कोला, माइटी रेन, लेमन लाइम ड्रिङ्क्स, आरसी ट्यु ओरेन्ज, जी पावर इनर्जी ड्रिङ्क, माउन्ट भिटा सोडा र माउन्ट भिटा ड्रिङ्किङ वाटर छन् ।

भेन्चुराका सञ्चालक सुवास आचार्यका अनुसार आरसी कोला, माइटी रेन, लेमन सोडा र आरसी ट्यु ओरेन्ज गरी ४ प्रकारका चिसो पेय २ सय ५० र ५ सय एमएल तथा डेढ र सबा दुई लिटरको प्याकिङमा छन् ।
त्यस्तै जी पावर इनर्जी ड्रिङ्क २ सय ५० र माउन्ट भिटा सोडा ५ सय एमएल तथा ड्रिङ्किङ वाटर १ लिटरको प्याकिङमा उत्पादन गरिएको छ ।
निकट भविष्यमै जिरा स्वादको जिरप ड्रिङ्क २ सय ५० एमएलको प्याकिङमा आउने आचार्यले बताए ।

अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय आरसी कोलाका कोल्ड ड्रिङ्क्स नयाँ वर्ष २०७७ को आगमनसँगै नेपालका बजारमा ल्याउने लक्ष्य राखिएको भए पनि कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी, लकडाउन, निषेधाज्ञाजस्ता कारणले ६ महिना ढिलो भएको छ ।
आरसी कोलाको हेड क्वार्टर ‘रोयल क्राउन कोला इन्टरनेशनल लिमिटेड’ संयुक्त राज्य अमेरिकाको कोलम्बस जर्जिया राज्यमा छ । आरसी कोलाको फ्रेन्चाइज लिएर हाल विभिन्न ६७ मुलुकमा यही ब्रान्डमा कोल्ड ड्रिङ्क्सको उत्पादन र व्यापार भइरहेको छ । आरसी कोला एक सय १४ वर्ष पुरानो र कोल्ड ड्रिङ्क्समा विश्वमा तेस्रो नम्बरमा पर्ने उत्पादन हो ।

 

विराटनगरको उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले नेपालमा फ्रेन्चाइज लिएर आरसीकोला ब्रान्डका पेय पदार्थ भित्र्याएको हो ।
समूहले मकवानपुरमा भेन्चुरा बोटलर्स प्रालि नामको उद्योग स्थापना गरेको छ । भेन्चुरा बोटलर्सबाटै आरसी कोलाका उत्पादनहरू निकालिएका हुन् ।
‘तत्काल २० कामदार उद्योगमा सक्रिय छन् र उद्योग पनि २५ प्रतिशत क्षमतामा मात्र चलेको छ’, आचार्यले भने, ‘अहिले मेसिन सेट हुनै बाँकी छ । एक महिनापछि मात्र हामी पूर्ण क्षमतामा चल्न सक्नेछौँ ।’
भेन्चुरामा प्रभु बैङ्कको ८० करोडको लगानी छ । उद्योगमा जर्मनी, फ्रान्स र अमेरिकाबाट मेसिन मगाइएको छ । पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि उद्योगमा कामदार, मार्केटिङ सबै गरेर १ सय ५० ले रोजगारी पाउने बताइएको छ ।

उद्योगको क्षमता एक घण्टामा कोल्ड ड्रिङ्क्सका १२ हजार बोतल उत्पादन गर्ने रहेको छ । उद्योगमा कोल्ड ड्रिङ्क्सको मुख्य कच्चा पदार्थ अमेरिकाबाट नै पैठारी गरिन्छ । आरसी कोलाको हेड क्वार्टर ‘रोयल क्राउन कोला इन्टरनेशनल लिमिटेड’को ल्याबमा नेपालमा उत्पादित सहायक कच्चा पदार्थ चिनी र पानीको परीक्षण गरेर कोल्ड ड्रिङ्क्स उत्पादन गर्न योग्य ठहर्याइसकेको छ । मकवानपुरबाट देशका मुख्य शहर नजिक पर्ने हुँदा यहाँ उद्योग लगाइएको उद्योगी आचार्यको भनाइ छ ।

उनले भने, ‘काठमाडौं, ललितपुर, भक्तपुर, काभे्र, हेटौँडा, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल लगायतका मुख्य शहर यहाँबाट नजिक पर्छन् । विराटनगरमा उद्योग लगाएको भए ढुवानीका कारणले कुल उत्पादन लागत नै ५ प्रतिशत महँगो पर्ने थियो । एउटा उद्योगका लागि उत्पादन लागतमा ५ प्रतिशतको अन्तर भनेको धेरै ठूलो कुरा हो । यही जोगाउन हामीले कारखाना स्थलका लागि मकवानपुर रोज्यौँ ।’

दुर्गालक्ष्मी समूह विराटनगरमा अटोमोबाइलको व्यापारमा सक्रिय छ । समूहले लामो समयदेखि होन्डा र हिरो होन्डा ब्रान्डका मोटरसाइकल, क्यास्ट्रोल ब्रान्डको मोबिल र एक्साइड ब्याट्रीको डिलरसिप चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्