कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुग्यो, पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु

कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुग्यो, पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेमा प्रदेश २ स्थायी ठेगाना भएका २० जना रहेका हुन् ।

पछिल्लो २४ घण्टामा मोरङको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिकल कलेजमा एक, म्याक्स अस्पतालमा एक, झापामा होम आइसोलेसनमा दुई र बीपी कोभिड अस्पताल धरानमा एक जनाको मृत्यु भएको छ ।

मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराटमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आइतबार बिहान १०ः३० बजेतिर मृत्यु भएको हो ।

कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको दावी गरिएको छ ।
यसैगरी धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको विराटमै बिहान ८ः३० बजेतिर मृत्यु भएको थियो । कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना गरिएका बृद्धको आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

यसैगरी म्याक्स अस्पतालमा झापा दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो मृत्यु भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।
झापामा कोरोना भाइरस संक्रमणबाट पूर्व गाविस सचिवसहित थप दुई जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय कुमुदचन्द्र झाको आफ्नै घरमा आइतबार बिहान ४ः१५ मिनेट मृत्यु भएको थियो ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा कात्तिक २१ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
झापकै अर्जुनधारामा आइतबार बिहान अर्का एक संक्रमितको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीय महिलाको मृत्यु भएको हो ।

यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररतः धनकुटाको पाख्रीबास–३ का ७१ वर्षीय वृद्धको आइतबार दिउँसो १ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्