दोहोरो नागरिकताधारीलाई पक्रदैं छोड्दै गर्छ सुनसरी प्रहरी

दोहोरो नागरिकताधारीलाई पक्रदैं छोड्दै गर्छ सुनसरी प्रहरी

विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको प्रशस्त प्रमाण पुगेपनि सुनसरी प्रहरीले इनरुवाका एकजना दोहोरो नागरिकताधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको केहि छिन्मा छोडिदिएको छ ।
गत आइतबार सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नेपाल र भारतको दोहोरो नागरिक भएको कानुनी आधार र प्रमाणहरु भएर पनि पक्राउ गरिएको दुई घण्टा नबित्दै हाजिरी जमानतमा छोडिएको छ ।

शर्माले झुटा विवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा परेका थिए । उजुरीकर्ताले नेपाल र भारतको नागरिक बनेको प्रमाण समेत प्रहरीलाई बुझाएका थिए । तर, प्रहरीले नियन्त्रण गरेर जिल्ला प्रशासनसँगको परामर्शपछि तत्काल छोडिदिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले पहिले नै मुद्दा किनारा लागिसकेको देखिएकोले आवश्यकता पर्दा हाजिरी हुनेगरि छोडिएको बताउनुभयो ।

शर्मासँग नेपालको नागरिकता नं. ७८१७\००३ रहेको छ । उनले अहिलेसम्म भारतको नागकिरता पनि त्यागेको छैनन् । भारतमा सन् २०१७ मा भएको निर्वाचनमा मतदाता नामवलीमा रमेशको नाम रहेको छ । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा नारायण निवासमा घर छ । अहिले पनि उक्त घरको बिजुलीको बिल भुक्तानी गरिरहेका छन् ।
रमेशका बावु छगनलाल शर्मा हुन् । बावुको पनि नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ । छगनलालको इनरुवा बजारमा घर रहेको छ ।
छगनलाले ३४ वर्षको उमेरमा २०३४ माघ १९ गते नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहेको छ । उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५१९ रहेको छ । छगनलालसँग भारतको रासनकार्डसमेत छ ।

छगनलालले लिएको रासन कार्डको नम्बर २०००००१०८३५८ रहेको छ । उनले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ । छगनलालका रमेश जेठा छोरा हुन् ।
यस अगाडी समेत जिल्ला प्रशासन कार्यालय सुनसरीमा दोहोरो नागरिकताको लिएको विषयमा उजुरी परेको थियो । प्रहरीका प्रवक्ता कार्कीका अनुसार त्यसबेला जिल्ला प्रशासन कार्यालयले रमेश नेपाली नागरिक नै भएको प्रमाणित गरेको थियो । तत्कालिन सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले (हाल प्रदेश १ प्रदेशसभा सचिव) रमेश नेपाली नागरिक भएको प्रमाणित गरेपछि पनि रमेशले भने भारतमा भएको निर्वाचनमा मतदान गरेको देखिन्छ ।

प्रहरीका प्रवक्ता कार्कीले मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकै कारण छोडिएको दावी गनुृभयो । तर, जानकारहरुका अनुसार उनी इनरुवाका कपडा व्यवसायी भएकोले पहुँचयोग्य मानिन्छन् । उनलाई छुटाउन इनरुवा १ का वडाअध्यक्ष पुगेका थिए । वडा अध्यक्षले आवश्यक परेको बखत हाजिर गराउने शर्तमा रमेशलाई छुटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्