सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्धारा सदर

सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्धारा सदर

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
सुनसरीको चतराधामका गिरीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले पनि सदर गरेको हो । सर्वोच्चले आदेश सदर गरेसँगै मुद्दाको किनारा नलागेसम्म उनी कारागारमै थुनामा रहनुपर्ने छ । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए । सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले शुक्रबार उच्चकै आदेश सदर गरिदिएको हो ।

बलात्कार आरोपमा पुर्पक्षमा रहेका गिरीलाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप चलेको थियो । सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारेखमा छुटाउन पण्डितको समूह लागे पनि सफल नभएको स्रोतले बतायो ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा २०७६ साल कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीमाथि सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि मुद्दा उच्च अदालत विराटनगरमा पुग्यो ।

उच्चले भने लगाउमा राखेर एकै पटक मुद्दाको सुनुवाई गर्दै सुनसरी अदालतको आदेश बदर गरेर उनलाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो ।

बलात्कारका अभियुक्त गिरीले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए । एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो ।
मुद्दाको सुनवाईपछि उच्चले सुनसरी अदालतको आदेश नै रितपूर्वक नभएको र बेरितको रहेको ठहर गरेको थियो । बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए ।

उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा भने प्रहरी हिरासत बस्न परेन । उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै गिरी अस्पताल भर्ना भएका थिए । त्यतिबेला अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो ।

प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा। ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै आएका थिए । गिरी अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति छन् । अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेका थिए । उच्चले थुनामै राख्न आदेश दिएपछि भने उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्