दुर्घटनामा तीन जनाको ज्यान गयो

दुर्घटनामा तीन जनाको ज्यान गयो

विराटनगर । मोरङ र झापाका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिमल्सिनाका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा ज्यान गएको तिमल्सिनाले बताए । ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको डीएसपी तिमल्सिनाले बताए ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा ज्यान गएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको उर्लाबारीमै उपचार भइरहेको तिमल्सिनाले बताए ।

त्यस्तै झापाको अर्जुनधारा–५ स्थित भित्री सडक खण्डमा शनिबार साँझ मोटरसाइकल र जेसीबी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १ –०१–०१२ प ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख १५८७ नम्बरको जेसीबी ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।

मोटरसाइकल चालक अर्जुनधारा–३ का ३५ वर्षीय दीपककुमार बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका बुढाथोकीको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । दुर्घटनापछि जेसीबी चालक अर्जुनधारा–९ का ४२ वर्षीय सुदीप खनाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्