विराटनगर । स्वरुप परिवर्तन गरेर ठूलो आवाजसहित विराटनगरका सडकमा पड्कदै कुद्ने बुलेट मोटरसाइकलमा सवार विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही थालेको छ । यस्ता मोटरसाइकलमा सवार व्यक्तिबाट बुलेट नियन्त्रणमा लिएर जरिवानासहित कम्पनिकै साइलेन्सर परिवर्तन गराउने अभियान सुरु गरिएको हो ।
कम्पनिको साईलेन्सर परिवर्तन गरी ठुलो आवाज बनाई कुदाउने बाईकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिईसकेपछि कम्पनिको साईलेन्सर लगाउन लगाएपछि मात्रै छोड्ने गरेको छ । त्यति मात्रै नभई बाईकमा सवार धनीलाई समेत जरिवाना भरेर मात्रै छोड्ने गरिएको प्रहरी निरीक्षक राकेश कुमार पोदारले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज (प्रमुख) पोदारका अनुसार धेरै नागरिकको गुनासो आएपछि यस्तो अभियान र कारवाही अगाडी बढाइएको हो । प्रदेश १ मा प्रहरीको प्रमुख भएर आउनु भएका तत्कालिन प्रदेश प्रहरी प्रमुख पशुपति उपाध्यायले नो–हर्न अभियान चलाउनु भएको थियो । त्यो अभियान प्रभावकारी भएपनि पछिल्लो समय कार्यन्वयनमा आएको छैन । त्यसपछि सडकमा बुलेट कुदाउनेहरुका कारण ध्वनी प्रदुषणसँगै आतंक समेत बढाउँदै गएका छन् ।