मेरो सरकार….

मेरो सरकार….

म कृषक, बिहान बेलुका कडा परिश्रम गरेर अन्न उत्पादन गर्छु । म आफ्नो मात्र होइन सबैको घरमा पुग्ने अन्न उत्पादन गर्छु । तर मैले दिन रात काम गरे पनि म राम्रोसँग मिठो दुई गाँस खान किन सक्दिन ?
म मौन छु । म रातमा निदाउन सक्दिन । मेरा आँखा बन्द कहिल्यै हुन सकेनन् । न मैले समयमा मल पाउछु न बीउ नै । मलाई आश्चर्य यस कुरामा लाग्छ कि म कृषि प्रधान देशको नागरिक हुँ ।

बीउ मलको अभावमा पनि बल्लबल्ल जुटाएर उत्पादन गरिन्छ । सिंचाईको व्यवस्था राम्रो छैन । जब अन्न उत्पादन हुन्छ त्यसको बजार छैन ।
म रातभरि निदाउन सक्दिन मेरो सरकार ! तिमी नतमस्त भएर कोल्टे फेर्छौ । वाह ! जयजय कार गर्न मन लाग्छ सरकार तिम्रो । मेरो पसिना मेरो मेहनत अनि त्यसको मोलमोलाई तिमीबाट हुन्छ । म त मैले उब्जाएको मेरो परिश्रमको अन्न आफै चर्को मूल्य तिरेर एक गाँस खान पाउदा पनि खुशि छु । किनकी तिमी छौं मेरो साथमा, मेरो सरकार ।

जहाँ तिमी पुगेको छांै सरकार त्यहाँ कोही राजनीतिज्ञ छैनन् । अपसोचको कुरा तिमीलाई राम्रोसँग राजनीति गर्न आउँछ । काल माक्सको विचारमा चल्ने ए मेरो सरकार क्रान्ति सबैले गरेका छन् फरक यति हो म मेरो पेटको लागि गर्छु तिमी कुर्सीको लागि । सदियांै देखि चल्दै आएको शासक र शोषितबीचको विभेद अन्त्यका लागि तिमीले पनि आवाज उठायौ होला । तर तिमी पनि त एक शासक हौ ! अप्रत्यक्ष रुपमा हामी माथि तिम्रो शासन हावी छ नी ।

प्रजातन्त्र, लोकतन्त्र के के तन्त्र आए नेपालमा हामीलाई थाहा छैन । यी तन्त्रहरुका नाममा हाम्रा छोराको बलि चडाइयो तर हामीले के पायौं सरकार तिमीबाट । त्यति बेला पनि हामी पेटको लागि, दुई छाक खानाको लागि र आरामको निन्द्राको लागि पौंठेजोरी खेल्दै थियौ र आज पनि खेल्दै छौैं । के पायौं र बहुमतको सरकारबाट ?

तर पनि म किसान आशावादी छु र त तिम्रो आशमा मल, बीउ समयमा पाउँछु की भन्ने आश राखिरहन्छु । मैले उत्पादन गरेका अन्नबालिले बजार पाउछ की भन्ने सोच्छु । मेरा आश, मेरा सोच आजको होइन मेरो सरकार पुर्खा देखिको हो र यो आश मेरा सन्तान दरसन्तानले पनि गर्ने छन् । हामी आशावादी छौं । एकदिन अवश्य हाम्रो समय आउने छ । दुई गाँस खान सक्ने माहोल बन्ने छ । तिम्रो महल मात्र होइन मेरो सरकार ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्