विराटनगर । बालसुधार गृहमा कैद भुक्तान गरिरहेका बालकलाई कुटपिट गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको छ । अभिभावकले मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कासँग गुनासो गरेपछि मोरङ प्रहरीले घटनाको वास्तविकता बुझ्न भन्दै छानविन समिति गठन गरेको हो ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बिहीबार नै बालसुधार गृहमा पुगेर बुझ्नु भएको थियो । पीडित बालकको अवस्था बुझेर फर्केसँगै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले तीन दिन भित्रै प्रतिबेदन बुझाउने गरि छानविन समिति गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले सुरक्षार्थ खटिएका प्रहरी र चौकीदारको संलग्नतामा कुटपिट भएको गुनासो आएपछि तत्काल छानविन समिति गठन गरिएको बताउनुभयो । समितिको प्रतिवेदनका आधारमा संलग्नहरुलाई कारवाही गरिने प्रहरी उपरीक्षक खड्काको दावी छ । विराटनगर–१७ का एकजना बालकलाई प्रहरीले निर्घात कुटपिट गरेको घटना बिहीबार बाहिरिएको हो ।
जर्बरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै दुईवर्ष कैद सजाय सुनाएपछि ढेडवर्षदेखि बालक बालसुधार गृहमा थिए । त्यहाँ उनलाई सुधार गर्नका लागि पठाइएको भएपनि यातना दिएर बोल्नै नसक्ने अवस्थामा पु¥याइएको घटना बाहिरीएको हो ।
उनलाई मुखमा कपडाको बुझो लगाएर मंगलबार रातभर कुटपिट गरिएको कुरा परिवारले बुधबार थाहा पाएका थिए । त्यसपछि घटनाको विषयमा बुझ्दा उनले परिवारलाई लगातार चारजनाले यातता दिदैं आएको सुनाएका थिए । तर, घटनाको विषयमा परिवारमा जानकारी गराएको भन्दै उनीमाथि पुनः यातना दिइएको खुलेको छ । उनको हात उठाउनै नहुने गरि चोट लागेको छ ।