विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सडकमै सवारी रोक्ने गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको हो ।
ट्राफिक प्रहरीले बिराटनगरको एयरपोट मोडदेखि एयरपोटसम्म सडकको दुवै साईडमा होटल अगाडी जथाभावी सवारी साधन पार्किङ गर्ने कामलाई तत्काल निरुत्साहित गर्ने योजना अगाडी सारेको छ । दैनिक रुपमा एयरपोटमा भीआईपी तथा भीभीआईपी सुरक्षा र आवागमनमा समस्या भएको भन्दै यस क्षेत्रका होटल अगाडी रोकिने सवारीमाथि कारवाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राकेश पोदारले जानकारी दिनुभयो । आवागमनमा बाधा पुग्न गएको भन्दै एयरपोट मोडमा पर्ने सम्पुर्ण होटल व्यवसायीहरुसँग सोमबार नै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्का र ट्राफिक प्रमुख पोदारले छलफल गर्नु भएको थियो ।
यस क्षेत्रका होटलहरुले सडकमा रहेको पार्किङ हटाउने सहमति जनाएका छन् । त्यस बाहेक विराटनगर बजार क्षेत्रका होटल अगाडी रोकिने सवारीलाई समेत कारवाही सुरु गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोदारले सडकमा सवारी आवागमनलाई अवरोध हुनेगरि रोकिएका सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । होटल सञ्चालकले आफ्ना सेवाग्राहीले प्रयोगमा ल्याउने सवारी व्यवस्थापनको लागि आफैं पार्किङस्थल निर्माण गर्नुपर्नेछ ।