नवराज कट्टेल/प्रेम देवान
मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरुको सुराक प्रहरीले पाईसकेको दावी गरिएको छ ।
मंगलबार घर नजिकै घाँटी रेटेर श्रेष्ठको हत्या विद्रोही विप्लव समूहले गरेको थियो । उक्त घटनामा संलग्नहरुको सुराक पाएको प्रहरीले दावी गरेको हो ।
घटनाको विषयमा विप्लव समूहका मेची–कोशी इन्चार्ज प्रतापले जिम्मेवारी लिईसकेका छन् । सार्वजानिक रुपमै प्रतापले जिम्मेवारी लिदैं सुराकी गरेको आरोपमा हत्या गरिएको बताएका हुन् ।
हत्याका पक्षधरले आफैं जिम्मेवारी लिइएको घटनामा प्रहरीले भने सुराक मात्रै पाएको हो । घटनापछि नेपाल प्रहरी अन्तर्गत मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण टंकीका प्रहरी उपरीक्षक तीर्थ पौडेलको टोलि घटनास्थल पुगेर फर्केको छ ।
दुई–दुई जना प्रहरी उपरीक्षक घटनास्थलसम्म पुगेर फर्केको २४ घण्टा बितिसक्दा समेत प्रहरीले संलग्नहरुको सुराक मात्रै पाएको छ । मंगलबार बिहान सवा ६ बजे शिक्षक श्रेष्ठको हत्या भएदेखि अहिलेसम्म संलग्नहरु पक्राउ परेका छैनन् ।
घटनास्थलमा पुग्नुभएका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सुरुमा स्थानियबासीले दिएको जानकारी भन्दा घटनाको प्रकृती फरक पाईएको बताउनु भएको थियो । गोली हानेर हत्या गरिएको भन्ने सूचना स्थानीयवासीले दिएका थिए । तर, श्रेष्ठको घाँटी रेटेर निर्मम हत्या गएिको भेटिएको थियो । स्थानीय आतंकित भएका कारण हत्या गोलि हानेर गरियो की घाँटी रेटेर भन्ने कुरा घटनास्थलमा पुग्दा समेत यकिन गर्न सकेका थिएनन् ।
विप्लवको गतिविधि भईरहेको मिक्लाजुङमा त्यहिंको निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे भने सुरक्षाकर्मीको घेराबीच समेत मंगलबार जान डराउनु भएको थियो । उहाँले प्रदेशसभा सदस्य कुशल लिम्बू साम्बालाई त्यस क्षेत्रमा जान डरमर्दो रहेको भन्दै आफ्नो अन्तै कार्यक्रम रहेको बताउनु भएको थियो ।
आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि घटनास्थलमा नपुगेको भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका थिए ।
प्रहरीले भने मिक्लाजुङमा विप्लवको गतिविधि बाक्लिएको सुराकसँगै घटना हुनसक्ने सूचना समेत राखेको बुझिन्छ । एसपी खड्काले प्रहरीले शंका गरेकै तत्वबाट घटना भएको दावी गर्नुले प्रहरीलाई विप्लवको गतिविधि र शिक्षक श्रेष्ठमाथि अप्रिय घटना गराउन सक्ने सूचना पहिल्यै भएको स्पष्ट हुन्छ ।
एसपी खड्काले सुराक पत्ता लागेपनि गहिरो अनुसन्धान बाँकी नै रहेको बताउँदै गहिराईमा पुगेर घटनाको पाटो केलाउने दावी गर्नुभयो । घटनास्थल मोरङ जिल्लाको सुरक्षाकर्मीको पहँुचभन्दा बाहिर भएका कारण यस अघि पनि उक्त स्थानमा विप्लव समूहले ३ वटा जेसिवीमा आगजनी गरिसकेका थिए ।
सुरक्षाकर्मीको पहुच भन्दा बाहिर रहेका कारण अपराधिक घटनाको संभावित क्षेत्रमा पर्ने एसपी खड्काको भनाई छ । स्थानीयले बारम्बार सुरक्षा निकायको उपस्थिति आवश्यक रहेको बताउँदै प्रहरी पोष्ट स्थापनाको माग समेत गर्दै आउका थिए ।
एसपी खड्काले चाँडै नै नागरिकको सुरक्षाको प्रत्याभुती दिलाउने गरी काम गरिने बताउनु भएको छ ।
मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवी आचार्यले घटना निन्दनीय भएको बताउँदै राज्यले सुरक्षा पोष्ट स्थापना गर्नुपर्ने माग गर्नुभयो । उहाँले स्थानीयको माग अनुसार प्रहरी पोष्ट स्थापना गर्न नसक्दा मिक्लाजुङले एक कुशल नागरिक गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
राजनीतिक माग रााखेर आन्दोलनमा रहेको विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पाार्टीका कार्यकर्ताले घटाएको मिक्लाजुङको घटना निन्दायोग्य छ । तर, राज्यको पनि यसमा उतिकै दायित्व र भूमिका जोडिन्छ । विप्लवका मागलाई समयमै सम्बोधन गरेर निर्दोष नागरिकको ज्यान जानबाट राज्यले बचाउनुपर्छ । निर्दोष नागरिकको हत्यामा संलग्न जस्तोसुकै अवस्थामा रहेपनि तत्काल नियन्त्रणमा लिएर कानुनले तोके बमोजिमको सजाय दिनुपर्छ । राजनीतिक मुद्दा उठाएर राज्यसँग माग राख्ने बिद्रोही समूहले पनि नागरिकमाथिको फौजी कारवाही तत्काल रोक्न आवश्यक छ ।