नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरणपछि निर्ममतापुर्वक हत्या गरेको शिक्षकको आज अन्तेष्टि गरिएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई गत मंगलबार घरबाटै जबरजस्ती जङगलमा लगेर घाटी रेटी हत्या गरिएको थियो ।
प्रधानाध्यापक श्रेष्ठको मिक्लाजुङ-७ स्थित नुनसरी खोलामा घटना भएको ३ दिनपछि आज अन्तेष्टि गरिएको हो । उनको शबमा छोरा छत्र श्रेष्ठले दागवत्ती दिएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि हिजो आफन्तले शव बुझेर घर ल्याएको मृतकका पारिवारले बताएका छन् ।
प्रधानाध्यापक श्रेष्ठको अन्तेष्टीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बराल, मोरङ क्षेत्र नं. १ का संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसदहरु कुलप्रसाद साम्बा लिम्बू, उपेन्द्र घिमिरे, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक संगठनलगायतको उल्लेखिय सहभागिता रहेको थियो ।
आफ्नो विरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहले मंगलबार नै प्रेस वक्तव्य जारी गरी दाबी गरेको छ ।
प्रधानाध्यपक श्रेष्ठको हत्यापछि मिक्लाजुङ यतिबेला शोकमा डुबेको छ । विभिन्न संघ सङ्गठनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । शिक्षक संघ सङ्गठन, मानव अधिकारवादी संस्थाहरू, राजनीति दल, स्थानीय संघ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।