स्थानीयको विरोधकाबीच मोरङको ग्रामथानमा जेष्ठनागरिक ग्राम शिलन्यास, निर्माणमा अवरोध गर्ने चेतावनी (फोटो फिचर)

स्थानीयको विरोधकाबीच मोरङको ग्रामथानमा जेष्ठनागरिक ग्राम शिलन्यास, निर्माणमा अवरोध गर्ने चेतावनी (फोटो फिचर)

प्रेम देवान
विराटनगर । स्थानीयको कडा विरोध र प्रतिवादकाबीच प्रदेश १ सरकारले मोरङको ग्रामथानमा जेष्ठ नागरिक ग्रामको सोमबार शिलान्यास गरेको छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गामा जर्बरजस्ती ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

विरोधकै कारण प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने त्यहाँ पुग्नु भएन । उहाँबाट शिलन्यास गराउने कार्यक्रम रहेकोमा स्थानीयले विरोध गरेपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलन्यास गर्नु भएको थियो ।

ज्येष्ठ नागरिक ग्राम निर्माणको कार्य शुभारम्भ गर्नका लागि सामाजिक विकास मन्त्रालयले कलाकार तथा अभियन्तासहितको टोलिलाई समेत निम्त्याएको थियो । स्थानीयले बाहिर कडा विरोध गरिरहेको स्थानमा सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री जसमाया गजमेर, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास थारु, ग्रामथान गाँउपालिका अध्यक्ष तथा उपाध्यक्षसहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो । यसैगरी सामाजिक विकास मन्त्रालयको निमन्त्रणमा पूर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाईका साथमा उनकी नव दुलही नन्दा सिंहको समेत उपस्थिति रहेको थियो ।

शिलन्यास गर्ने कार्यक्रम तय भएपछि स्थानीयले आफूहरुले विगत लामो समयदेखी भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित गराउने नियत राखिएको भन्दै विरोध गरेका थिए । उनीहरुले २०२४ सालदेखी उक्त स्थानको भोगचलन गर्दै आएको भन्दै जेष्ठ नागरिक ग्राम निर्माणमा अवरोध गर्ने चेतावनी समेत दिइएका छन् ।

स्थानीय भुमि उप्रेतीले सरोकारवालासँग परामर्श नै नलिईकन जर्बरजस्ती संरचना निर्माण गर्ने काम गलत रहेको बताउनुभयो । स्थानीयले विरोध गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले विरोधमा उत्रिएका उप्रेतीलाई शिलन्यास गर्ने परिसरबाट नियन्त्रणमा लिएर बाहिर निकालेको थियो ।
स्थानीय र सुरक्षाकर्मीबीच केहिबेर झडप समेत भएको थियो । त्यस क्रममा आक्रोशित स्थानीयले सुरक्षाकर्मीलाई गाली गर्दै लाठी र ढुंगा लिएर उत्रिएका थिए ।


विरोधकाबीच पनि शिलन्यासको कार्यक्रम भने गरिएको छ । सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरेर नै स्थानको यकिन गरेको दावी सामाजिक विकास मन्त्री घिमिरेको छ । स्थानीयस्तरमा हुने विकास निर्माणले फाईदा पनि स्थानीयलाई नै हुन भन्दै मन्त्री घिमिरेले ज्येष्ठ नागरिक ग्राम निर्माण गर्दा कोहि पनि घरबारविहीन हुन नपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सडकमा आश्रसित भएर बसेका घर र अभिभावक विहीनहरुलाई जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गरे संरक्षण गर्ने तयारी गरेको मन्त्री घिमिरेको भनाई थियो ।
दश विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना अनुसार सोमबार शिलन्यास गरिएको हो । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । स्थानीय जानकारले भने जग्गा खरिद प्रक्रियादेखि नै आर्थिक चलखेल भएको आरोप समेत लगाएका छन् । यस अगाडी समेत स्थानीयले चलखेल गरेर राज्यको रकम दुरुपयोग गरेको भन्दै गुनासो पोख्दै आएका थिए । निर्माण नगर्न गरिएको आग्रह अस्वीकार गरिएको भन्दै स्थानीयले जग्गा खरिद प्रक्रिया, निर्माणमा ठेक्का प्रक्रियाको विषयमा राज्यको आधिकारिक निकायबाट छानविन गराउन प्रक्रिया समेत सुरु गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्