विराटनगर । विराटनगरमा आधुनिक प्रयोगशाला भवन निर्माणको शिलन्यास मंगलबार गरिएको छ । विराटनगर–१४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठाा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम सुरुवात गरेको हो ।
दातृ निकाय सेभ त चिल्ड्रेनको ८ करोड आर्थिक लगानीमा निर्माण हुने प्रयोगशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलन्यास गर्नु भएको छ । शिलन्याससँगै छ महिनामा निर्र्माण सम्पन्न गरिसक्ने र आठ महिनापछिदेखि सञ्चालनमा ल्याउने प्रतिवद्धता त्यस अवसरमा जनाइएको छ । मुख्यमन्त्री राईले संविधानले प्रदत्त गरेको नागरिकको मौलिक अधिकार स्थास्थ्य सुरक्षाका लागि तीनै तहका सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संविधानमा लेखेर मात्रै नभई कार्यन्वयनका लागि आवश्यक पर्ने संरचना निर्माणमा सरकारले तदारुकता देखाईरहेको बताउनुभयो ।
उहाँले दातृ निकायले समेत नेपालको संघीयता कार्यन्वयनमा सहयोग बढाउँदै लगेकोले केहि वर्ष भित्रै संघीय शासन प्रणालीको असाधारण र अभूतपूर्व उपहार नागरिकले पाउने दावी गर्नुभयो । मुख्यमन्त्री राईले संघीयता कार्यन्वनका लागि आवश्यक पर्ने संरचना निर्माणको कामसँगै नागरिकमुखी पूर्वाधार विकासका योजना तिव्र रुपमा अगाडी बढाइएको बताउनुभयो ।
सेभ द चिल्ड्रेनले आफैं बोलपत्र करार गराएर निर्माण कम्पनिमार्फत भवन निर्माण गर्ने प्रतिनिधि हरिबोल बजगाँईले जानकारी दिनुभयो । उहाँले तोकिएको समय सीमा भित्रै निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गरिने दावी गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रादेशिक प्रयोगशाला स्थापनासँगै प्रदेश १ का नागरिकले परीक्षणका लागि टेकु वा भारतका विभिन्न शहरमा धाउनु पर्ने बाध्यताको अन्त्य गरिने बताउनुभयो । उहाँले आठ महिनापछि प्रयोगशाला सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने यन्त्र र उपकरण खरिदको प्रक्रिया समेत चाँडै अगाडी बढाउने बताउनुभयो ।