मिटर ब्याजले चुर्लुम्म घरबार, विराटनगरका कारोबारी पक्राउ परेपनि कानुनी बठ्याँईका कारण उम्कन सक्ने डर

मिटर ब्याजले चुर्लुम्म घरबार, विराटनगरका कारोबारी पक्राउ परेपनि कानुनी बठ्याँईका कारण उम्कन सक्ने डर

नवराज कट्टेल
विराटनगर । निन्याउँरो अनुहारमा देखिएका धनपालथान गााउँपालिका–१ नोचाका ५६ वर्षीय हरिलाल मण्डल मंगलबार विराटनगरमा डराईडराई बोलिरहेका थिए । गाउँमा साहुको मिटर ब्याजले घरबार चुर्लुम्म डुबाएर उकासिनै नसक्ने भएका मण्डल शहरमा साहु पक्राउ परेपछि एक दशकको पीडा ओकल्न विराटनगर आएका हुन् । मण्डल जस्तै मोरङका दक्षिणवर्ती क्षेत्रका गरिब किसानमा मिटर ब्याज लगानी गर्दै आएका मन्टु भनिने सन्जयप्रसाद रौनियारलाई सोमबार नै मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । मन्टु पक्राउ परेपछि पीडित बनेकाहरु मंगलबार आफ्नो पीडा सुनाउन र गुमेको जग्गा फिर्ता आउला की भन्ने आसामा विराटनगरसम्म धाएका हुन् ।

धनपालथान स्थानीय, मिटर ब्याजीबाट पीडित भएपछि मंगलबार विराटनगरमा आफ्ना पीडा सुनाउन आएको बखत ।

 

विराटनगर–९ घोघापुलका रौनियारले गाउँका किसानको उठिबास लगाउने धन्दा चलाएको दश वर्ष पुगेछ । उनले सयकडा ५ रुपैँयाका दरले ऋण दिने र किसानको नाममा भएको जग्गा आफ्नो नाममा पास गर्ने गरेको पीडितको भनाई छ ।  पीडित मण्डलले ५० हजार रुपैँया लिएको ऋण निफन्न नौवर्षसम्म आफ्नो अढाई बिघा जग्गामा उखु खेति गरेर रौनियारलाई बालि उठाउन लगाए तर, ऋण चुक्ता भएको घोषणा मिटरब्याजी रौनियारले गरिदिएनन् । कपाली र तमसुक फिर्ता लिएका रौनियारले मण्डल विरुद्ध हप्कीदप्की मात्रै गरेनन्, उल्टै पाँचलाख रुपैँयाको मुद्दा लगाई दिएको उनले गुनासो सुनाए । त्यति मात्रै नभई पक्राउ परेका रौनियार छुट्नसक्ने भन्दै उनलाई कसैले विराटनरमा आईपुगेपछि सुनाईदिएपछि डराएर बोल्नै आनाकानी गरेका थिए ।

मिटर ब्याजी रौनियारका कारण पीडित बनेका धनपालथान–४ का बिनोद सिंहको कहानी झन् पीडादायी छन् । आफ्ना पीडा पत्रकारसँग सुनाउन आएका सिंहले तीन लाख लिएको ऋण १२ लाख रुपैँया बुझाई सके, तर अझै ३५ लाख रुपैँया हिसाबमा देखिन्छ । उनले २०६९ सालमा लिइएको तीन लाख रुपैँया निफन्न सकिन भन्न नपाउँदै अका महानन्द रायले आफ्नो पीडा खोले । २०६३ सालमा रौनियारसँग लिएको अढाई लाख रुपैँयाको अहिले साँवा र ब्याज गरेर १ करोड २५ लाख बुझाउन बाँकी देखिएको छ । तमसुक र कपाली फिर्ता लिएका रौनियारले जग्गा हडप्ने र प्रतिवाद गरेको अवस्थामा हप्कीदप्की गरेर मुद्दा लगाउने डर रायलाई थियो । तर, रौनियार पक्राउ परेपछि स्वास फेर्नसम्म सक्ने भएर गाउँनै मंगलबार विराटनगर आईपुगेको हो ।


नोचाकै बेवी खातुनले समेत आफ्नो पाँच कठ्ठा जग्गा पास गरिदिएर ३ लाख लिएर विगत ८ वर्षदेखि २२ रुपैँया तिरिसक्दा समेत ऋणमुक्त नभएको गुनासो गर्नुभयो । ऋण पूरै बुझाईसकेको थिएँ, अस्ती गएर पाँचलाख दिएमात्रै जग्गा फिर्ता गरिदिने बताएका छन्, खातुनले भनिन् । रौनियारले विराटनगरको घोघापुल चौक, सरोचिया, कटहरी, नोचा, रंगेलीको दक्षिणी क्षेत्रसहित मोरङमा अतिविपन्नहरुको बसोबास भएको स्थानमा मिटर ब्याजमा लगानी गर्दै आएको मो.एकलाक हुसैनको आरोप छ । उनका अनुसार कसैले कुनै प्रतिवाद गरे रौनियार आफैंले प्रहरी खडा गरेर लगाई दिने गरेका थिए ।

साँच्चैका प्रहरी हुन्थे की हुन्थेनन् तर स्थानीयलाई डिएसपी र एसपीको फोनसहितको धाकधम्की र प्रहरीको धरपकड तथा धम्की बारम्बार भईरहन्थ्यो, हुसैनको दावी छ ।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडकले प्रक्रिया मिलाएरै स्थानीयमाथि ज्यादती गरेका कारणा ठगी विरुद्धको मुद्दा लगाउन केहि असजिलो देखिएको बताउनुभयो । उहाँका अनुसार ऋण लगानी गरिएका किसानको जग्गा रौनियारले आफ्नै नाममा नामसारी गरिसकेको देखिएको छ । प्रहरीले बरामद गरेको कागजमा पीडक रौनियारले कानुनी बठ्याँईसहित गाउँघरका किसानमा लगानी गर्ने र जग्गा हडप्ने गरेको देखिएको हो ।

पछिल्लो दशवर्षमा मात्रै रौनियारको नाममा ७५ कित्ता जग्गा पास भएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसैगरी श्रीमती ज्योती रौनियारको नाममा समेत २५ कित्ता र छोराछोरीको नाममा समेत १०–१२ कित्ताका दरले जग्गा देखिएको प्रहरीले बताएको छ । अनुसन्धानकै पाटोमा छौं, सम्पति सुद्धिकरणको मुद्दामा जान सकिन्छ । अस्वभाविक रुपमा आर्जन गरेको सम्पतिको स्रोत खुल्ने अवस्था छ की छैन भनेर हामीले अनुसन्धानलाई बढाएका हौं । पीडकले अदालत, वकिल, प्रहरी र प्रशासन समेतको धम्की गाउँमा दिने गरेको उनलाई नजिकबाट जान्नेहरुले बताउँछन् । उनका नजिकका आफन्तले समेत अहिले उनी विरुद्ध मुद्दा लडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्