विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापा सवार प्रहरीका गाडीले सिटी सफारीलाई ठेक्कर दिएको छ । विराटनगर कन्चनबारी चौकमा को २ ह १७७८ नम्बरको सिटीलाई डिएसपी सवार गाडीले ठक्कर दिइएको हो ।
डिएसपी थापा सवार गाडीको नम्बर भने यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले समेत दुर्घटना हुँदाताका चढेको गाडीको नम्बर खुलाउन मानेनन् । दुर्घटनापछि गाडी तत्काल जिल्ला प्रहरी कार्यालयतर्फ हुँईक्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।
डिएसपी थापाका अनुसार कन्चनबारीबाट ठूलो मिलतर्फ मोडिने स्थानमा प्लाइबोर्ड बोकेर आईरहेको सिटी सफारी गाडीमा ठोकिएको थियो । जसका कारण सिटीको अगाडीको सिसा फुटेको छ ।
मानवीय क्षति छैन, मैले सिटीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन लगाएको छु, डिएसपी थापाले भन्नुभयो–हाम्रो भन्दा पनि उसैको कमजोरी जस्तो देखियो । यात्रु मात्रै सवार गर्नुपर्ने सिटीको छतमा प्लाइबोर्ड राखेर ल्याउँदा अनियन्त्रित भएको थियो । डिएसपी थापा सवार गाडीले ठक्कर दिइएको सिटीलाई ना २ झ ८५१ नम्बरको सिआरभीको गाडीले तानेर लगेको थियो ।