विराटनगर । तस्करीको लाइन चलाउनेसँगको संगत नछोडेको कारण देखाउँदै प्रहरी चौकी बखरीका इन्चार्जसहितको टिम नै जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी उपरीक्षक सन्तोष खड्काले बारम्बार तस्करीको धन्दा चलाउनेमाथि कडाईपूर्वक निगरानी बढाउन दिइएको निर्देशन विपरित लाइन चलाउनेसँगको सम्पर्क नटुटाएको कारण देखाउँदै प्रहरी चौकी बखरीको टिमलाई जिल्लामा तानेर नयाँ टिम परिचालन गरेका हुन् ।
विराटनगर–१२ बखरी क्षेत्र भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने इलाकाको रुपमा चिनिन्छ । सीमापारीबाट नेपाल भित्र्याएको सामान प्रहरीसँगको सेटिङमा सुरक्षितसँग गन्तव्यमा पु¥याउने गरिन्छ । चुस्त हुनुपर्छ भन्ने मान्यता विपरित काम भयो की भन्ने आशंका भयो, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–सामान्य र नियमित प्रक्रियाबाट हेरफेर गरिएको छ । बखरी प्रहरी चौकीमा यस अगाडी प्रहरी सहायक निरीक्षक (असई) ओम बहादुर थापाको कमाण्डमा प्रहरी टोलि रहेको थियो । उनको कमाण्डका सातैजना प्रहरीलाई जिल्लामा तानेर प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मण खड्का नेतृत्वमा प्रहरी खटाइएको हो ।
दशैं आसपासको १५ दिन प्रहरीले संस्थागत रुपमै लाइन चलाउन दिइएको थियो । तर, सीमा बन्द भएका बेला प्रदेश १ प्रहरी कार्यालयका डिआईजीको समेत सीमामा लाइन चलाउनेसँगको संगत बढेको भन्दै आलोचना भएको थियो । झापा, मोरङ र सुनसरीमा जताततैबाट लाइन खुलेको हल्ला चलेपछि त्यसको दवावमा परेको प्रहरीले तिहार लगतै कडाई गर्दै आएको छ । लाइन चलाउँदै आएकाहरुले प्रहरीलाई मिलाएर अवैध व्यापार बढाएको विषय सञ्चारमाध्यममा आएपछि तस्कर चलमलाएका समेत थिए । अवैध रुपमा कारोबार गर्नेहरुले प्रहरीलाई धेरै ठूलो रकम लगानी गरिसकेपछि लाइन बन्द गरिदिएको भन्दै त्यसको हल्ला आफैं गरेका थिए । त्यो विषय सञ्चारमाध्यमबाट बाहिरिएको थियो ।
प्रहरीले लाइन बन्द गर्नुमा सञ्चारमाध्यम कारण बनेको ठहर गरेका उनीहरुले पत्रकारसँगको भेटघाट गर्ने प्रयास समेत गरे । तर, अनुकुल अवस्था नआएपछि सीमा क्षेत्रमा धर्ना र विरोध कार्यक्रमका लागि लगानी गरेको बताइन्छ । कोरोनाका कारण बन्द रहेको सीमा सञ्चालनमा आए मात्रै सहज रुपमा वारपार गर्न सकिन्छ, सीमा क्षेत्रमा कारोबार गर्दै आएका सुमन साहले भने–सरकारले खोल्नुपर्ने सीमा खोलिरहेको छैन । हल्ला छ खोल्दैन रे, साहले भने–सीमा क्षेत्रका बासिन्दामा कष्ट बढेको छ । उनले सीमानाका खोल्नुपर्ने माग स्थानीयले गर्न थालेको बताए ।
सीमा क्षेत्रमा अवैध कारोबार चलाउनेहरुले समेत प्रहरीलाई उल्टै आरोप लगाउने गरेका छन् । भारतमा पाइने सस्तो सामान भित्रन नदिएवापत नेपालका व्यापारीबाट रकम असुल्छन्, धनपालथान डमुरियाका कारोबारी श्रवण साहले भने–जताबाट पनि पैसामै सेटिङ छ । साहले समेत दशैं आसपासमा कारोबार गर्न दिएको प्रहरीले छैठपछि बन्द गरिदिएको बताएका छन् ।