विराटनगरको चाँदनीचौकदेखि केशलियासम्मको सडक निर्माण रोकिएको भन्दै स्थानीय विरोधमा, ठेकेदार भन्छन्–पैसा नै छैन

विराटनगरको चाँदनीचौकदेखि केशलियासम्मको सडक निर्माण रोकिएको भन्दै स्थानीय विरोधमा, ठेकेदार भन्छन्–पैसा नै छैन

विराटनगर । बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै बीचैमा रोकिएको छ । विराटनगर महानगरपालिका ५ कोचाखलको ६७० मिटर लम्बाईको सडक निर्माण कार्य बजेट अभावले रोकिएको हो ।

चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोध समेत गरेका छन् । स्थानीय अशोक राजबंशीले ठेकेदारले बालुवा र गिट्टी केहि महिनासम्म सडकमै थुपारेर पुनः उठाएर लगेदेखि फर्केर नआएको गुनासो गर्नुभयो । त्यहि आक्रोश शुक्रबार स्थानीयले ठेकेदारसँग पोख्न सडक अवरुद्ध गरेर विरोध जनाएका थिए । स्थानीयले सडकमा रुख ढालेर आवात–जावत रोकेका थिए । ठेकेदार कम्पनि कला बिल्डर्सले गत आर्थिक वर्षको चैतमा सडक कालोपत्रेका लागि ठेक्का पारेको थियो ।

सम्झौता गरेर निर्माण सुरु गरेपनि कोरोना संक्रमणका कारण काममा केहि अवरोध पुगेको थियो । सरकारले विकास निर्माणका कामलाई अगाडी बढाउने निर्णय गरेपछि ठेकेदार कम्पनिले एउटा कल्भर्ट निर्माण र सडकको सव–ग्रेड गरिसकेको थियो ।
गत आर्थिक वर्ष काम नसकिएपछि चालु आर्थिक वर्षमा निर्माण निरन्तरता दिने तयारी रहेको थियो । तर, बजेट नै नभएको सरकारी निकायले जानकारी दिएपछि ठेकेदार कम्पनिले निर्माण सामाग्री उठाएर लगेको थियो । निर्माण कम्पनिका सन्जय यादवले स्थानीयले विरोध गरेर मात्रै सडक निर्माण हुननसक्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयसँग पैसा नै नभएका कारण आफूले काम छोडेको बताउनुभयो ।

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यलयको योजनामा त्यो सडक निर्माणको काम थालिएको थियो । कार्यालयले बोलपत्र आह्वान गरेर ठेक्का लगाएका योजनामा स्रोतको सुनिश्चितता गरिएको थियो ।
तर, राजनीतिक दवावका कारण योजना भन्दा बाहिर उपभोक्ता समितिमार्फत विभिन्न योजना तयार पारेर रकम निकासा गरिँदा स्रोत सुनिश्चित गरिएका योजनामा बजेट अभाव भएको हो ।

निर्माण व्यवसायीले गत आर्थिक वर्ष ठेक्का लिएर सम्पन्न गरिसकेका योजनाको समेत रकम निकासा गरिएको छैन । त्यसको विरोध गर्दै निर्माण व्यवसायी संघ मोरङको टोलिले पूर्वाधार विकास कार्यालयका प्रमुखसँग शुक्रबार एक चरणको छलफल गरिसकेको छ । आइतबार वा सोमबार मुख्यमन्त्री शेरधन राईसँग समेत छलफल गर्नका लागि जाने तयारीमा निर्माण व्यवसायीहरु रहेका छन् ।
स्रोत नै अभाव भएर सडक निर्माणबाट ठेकेदार कम्पनि पछि हटेपनि त्यो सडकमा स्थानीयलाई राजनीतिक रंग दिएर उछालिएको बताइन्छ । प्रदेशसभा सदस्य केदार कार्कीको पहलमा रकम परेको तर सरकारले त्यसलाई रोकिदिएको भन्ने अनावश्यक हल्ला चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्