तालतलैयामा ४० करोडको लगानीमा ‘यी पी वाटर पार्क’

तालतलैयामा ४० करोडको लगानीमा ‘यी पी वाटर पार्क’

विराटनगर । सुनसरीको इटहरीमा प्रहरीका २ पूर्व उच्च अधिकारी र २ उद्यमी गरी चार जनाको समूहले अत्याधुनिक पार्क सञ्चालनमा ल्याउने भएको छ । इटहरी नगरपालिका वडा नम्बर २ तालतलैयाको छेउमै ६ बिघा क्षेत्रफलमा ४० करोडको लगानीमा यी पी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा आउने भएको हो ।

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योगवाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी छ । पार्कको पूर्ण र औपचारिक उद्घाटन आगामी फागुन महिनामा गरिनेछ ।
गत चैत महिना मै सबै काम सकेको समूहले कोरोना संक्रमणका कारण पार्क सञ्चालनमा ल्याउन सकेको थिएन । पार्कका लगानीकर्तामध्येका एक भीम पौडेलका छोरा तथा पार्क सञ्चालक विनोद पौडेलका अनुसार लामो लकडाउन र कोभिड कहरका कारण पार्क सञ्चालनमा ल्याउन नसकिएको हो ।

यो पार्क अहिलेसम्म सञ्चालनमा आएकामध्ये पृथक छ । पूर्वमा पहिलो वाटर पार्क पनि यहि हो । सञ्चालक पौडेलका अनुसार पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड ८ वटा राखिएका छन् । एक स्लाइडमा एक पटकमा बढीमा ८ जनाले खेल्नेछन् । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन् ।
पार्कमा समुन्द्रको छालमा खेले झैंको आनन्द आउने एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । त्यस बाहेक जोरासिक पार्क पनि यहाँको सुन्दर मानिएको छ । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ ।

पार्कभित्र ४ वटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आउने छन् । एउटा बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ । त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि तयार भइसकेको छ ।
पार्कमा जिप लाइन खेलबाट समेत रमाइलो लिन सकिने सुविधा रहेको छ । पार्कमा रक क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि छ ।
सुनसरीको इटहरी आसपासमा सञ्चालित रमाइला पार्कमा मानिसको आकर्षण र रुचि देखेपछि लगानीमा समेत आकर्षण थपिएको हो । तालतलैया क्षेत्रमा १० वर्षयता वनभोज खान आउनेको भीडलाई पार्कले मुख्य आकषण दिने भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्ने भएपनि इटहरीले फाइदा लिईरहेको गोकुलम् पार्क र गोकर्ण पार्क सहित इटहरीमै रहेको ओसियन पार्कसहित यहाँ तीन वटा पार्क सञ्चालनमा छन् । यी पार्कमा वनभोज खान आउनेको भिड हुन्छ । तर, नयाँ पार्क पिकनिकका लागि नभएर, पार्कभित्रै रहेका भेराइटीका रेस्टुरेन्टका परिकार खाँदै रमाइलो गर्नका लागि बनाइएको सञ्चालक पौडेलको भनाई छ ।
उनका अनुसार पार्कभित्र एकै ठाउँमा केन्द्रीकृत रेस्टुरेन्ट हुनेछैन । खाने र पिउने सामग्रीका स्टलहरू ठाउँठाउँमा राखिनेछन् । यसले गर्दा पार्क घुम्दै र खानपिनको मज्जा लिँदै मानिसले पार्कको अवलोकन गर्नेछन् ।

उनले दैनिक कम्तीमा ५ सयले पार्कको अवलोकन गर्ने लक्ष्य रहेको बताए । तर पार्कको क्षमता भने ५ हजार मानिस अटाउने छ । पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाउने बताइएको छ । दोस्रो चरणमा सुविधासम्पन्न कटेजको निर्माण गरेर अतिथिलाई आवासको सुविधा दिइने पौडेलले जानकारी दिए ।
भारतबाट वराह क्षेत्र र दन्तकाली–पिण्डेश्वरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेखनीय हुने चर्चा गर्दै पौडेलले धार्मिक पर्यटनमा आउने वाह्य पर्यटकलाई पार्कतर्फ लैजाने आफ्नो उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्