विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई विराटनगरसँग जोड्ने सडकको कालोपत्रे सुरु गरिएको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई शहरसँग जोड्ने नयाँ सडकको कालोपत्रे सुरु गरिएको हो ।
ग्रामथान १ को मिलनचौक–लखन्तरी–गिधनिया–धोयिबारी–हरैंचासम्मको ३ किलोमिटर २०० मिटर सडक कालोपत्रेको सुरुवातको शनिबारदेखि औपचारिक शिलन्यास गरिएको हो । सडकको संविधानसभा सदस्य अमनलाल मोदीले शनिबार ग्रामथान–१ लखन्तरीमा चौकमा शिलन्यास गर्नु भएको थियो । त्यसका क्रममा मोदीले ग्रामिण वस्तीका नागरिकको आवागमन सहज बनाउन यो सडक महत्वपूर्ण हुने बताउनुभयो ।
सडक डिभिजन कार्यालय विराटनगरको ६ करोड ८८ लाख ९७ हजार लागत अनुमान रहेको सडक निर्माणका लागि ४ करोड ३५ लाख ८७ हजार रुपिँयामा ठेक्का सम्झौता गरिएको छ । डिभिजन सडक कार्यालय विराटनगरका सव–इन्जिनियर राजेशकुमार यादवका अनुसार चालु आर्थिक वर्षको चैत ३० गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने गरि गत साउन ११ गते ठेकेदार कम्पनि शाह निर्माण सेवा, ईनरुवासँग सम्भाmौता गरिएको हो ।
दश मिटर चौडा रहने सडकको केन्द्रभागको साढे पाँच मिटर चौडाईमा चार सेन्टीमिटर स्पाल्ट कालोपत्रे गरिनुपर्ने सम्झौतामा उल्लेख भएको छ । सडक निर्माणका क्रममा ठेकेदार कम्पनिले ६ वटा कल्भर्ट निर्माण गर्नेछन् । डिभिजन सडकको योजनामा सडक मात्रै निर्माण योजना मात्रै रहेका कारण स्थानीय तह र संसद विकास कोषको रकमबाट नाला निर्माण गरिने काम धमाधम भईरहेको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको बजेट र ग्रामथान गाउँपालिकाको बजेटबाट नाला निर्माणको काम धमाधम भईरहेको गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिनुभयो ।
यो सडकले ग्रामथानको भित्री वस्तीलाई शहरसँग जोड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी अध्यक्ष माझीको थियो । प्रदेश सरकारको लगानीमा निर्माण भईरहेको घिनाघाट–विराटचौक सडक खण्डको मिलनचौक र त्यहि सडकको हरैंचासँग नयाँ बन्ने सडक जोडिने अध्यक्ष माझीले जानकारी दिनुभयो ।
थारु बाहुल्य बस्ती रहेको क्षेत्रबाट सडक सञ्जाल विस्तार हुने भएकोले झण्डै ५ हजार घरधुरीले लाभलिने अनुमान गरिएको छ । अध्यक्ष माझीका अनुसार प्रत्यक्ष लाभलिने नागरिक २५ हजार भन्दा बढी हुनेछन् ।
यहाँका स्थानीयले उत्पादन गरेका वस्तु बिक्रीका लागि नजिकको बजारको रुपमा मिलन चौक र हरैंचासम्म पु¥याउने गरिएको छ । सडक निर्माणपछि हरैंचामा लाग्ने दैनिक तरकारी बजार र मिलन चौकमा लाग्ने हटियासम्म आउन सहज हुनेछ ।