शनिमन्दिर अगाडी सडकमा बस्ने व्यक्तिसँग ८९ हजार बढि रुपैयाँ: सडकआश्रीत उद्धार अभियान

शनिमन्दिर अगाडी सडकमा बस्ने व्यक्तिसँग ८९ हजार बढि रुपैयाँ: सडकआश्रीत उद्धार अभियान

विराटनगर–७ स्थित शनिमन्दिर अगाडिबाट आज उद्धार गरिएको एक सहयोगापेक्षी सडकआश्रित मानवसँग रु ८९ हजार ६०० फेला परेको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, मोरङका स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा मेची–महाकाली सडक मानव उद्धार तथा पुनःस्थापना अभियान–२०७७ अन्तर्गत आज उद्धार गरिएका जीतेन्द्र सिंह राजपूतले लगाइको कपडाबाट सो रकम फेला परेको हो । उहाँले ज्येष्ठ नागरिक भत्ता र अन्य भक्तजनले आफूलाई प्रदान गरेको रकम भएको जनाएको छ ।

फेला परेको रकम सुरक्षित साथ उहाँको नाममा बैंकमा जम्मा गरिदिने आश्रमका प्रदेश समिति अध्यक्ष नवराज केसीले जानकारी गराउनुभयो । यसैगरी एक अर्का सहयोगापेक्षी सडकआश्रित मानवको साथबाट रु २१ हजार ३०० प्राप्त भएको छ ।

मोरङ जिल्लाबाट आज ६६ जना सहयोगापेक्षी सडकआश्रित मानवलाई उद्धार गरिएको छ । आश्रमले यही पुस ९ गतेदेखि मोरङ, सुनसरी र झापामा सञ्चालन गरेको तीन दिनको अवधिमा २५३ सहयोगापेक्षी सडकआश्रित मानवलाई उद्धार गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । उद्धार गरिएका सहयोगापेक्षी सडकआश्रित मानवमध्ये पाँच वर्षदेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिक छन् ।

यसरी उद्धार गरिएकामध्ये झापामा ७६, सुनसरीमा १११ र मोरङमा ६६ मध्ये विराटनगरका ४५ छन् । उद्धार गरिएका १९ बालबालिकामध्ये नौ जनालाई काठमाडौँ पठाइएको छ भने १० जनालाई सुनसरीको इटहरीमा राखिएको अध्यक्ष केसीले बताउनुभयो । उद्धार गरिएका बाँकी सहयोगापेक्षी सडकआश्रित मानवलाई आश्रमको विराटनगर–३ र १० स्थित भवनमा राखिने भएको छ ।

उद्धार कार्यको आज यहाँ आयोजित समापन कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्धार गरिएका सडक मानवका लागि आवास, स्वास्थ्य उपचारमा ध्यान केन्द्रित हुने बताउँदै सडक मानवमुक्त प्रदेश निर्माणमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले सडक मानव पुनस्थार्पनाका लागि ग्रामथानमा ११ विगाहा क्षेत्रमा निर्माण भइरहेको आश्रम आगामी वैशाखदेखि सञ्चालन आउने जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले आजदेखि नै विराटनगरलाई सडक मानव मुक्त महानगरको घोषणा गर्दै अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले उद्धार कार्यले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा पैmलिँदा सडकमा मागेर जीविकोपार्जन कार्यको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारले सहयोगापेक्षी सडकआश्रित मानव सम्बन्धी नीति बनाएकोमा खुशी व्यक्तगर्दै उद्धार कार्यलाई राजमार्गबाहेक अन्य क्षेत्रमा समेत निरन्तरता दिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्