विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो ।
मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीको संयोजकत्वमा मन्त्रीको सपथ लिएर पदभार ग्रहण गर्दाको क्षण झैं मन्त्रीहरुका लागि बिदाई कार्यक्रमको आयोजना गरिएको थियो । पदमा रहँदा सहज र सरल रुपमा कार्यसम्पादन र विभागिय मन्त्रालयले पूरा गर्नुपर्ने जिम्मेवारीमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको भन्दै कर्मचारीले भव्य बिदाई गरेका थिए ।
मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सहि वा गलत भन्ने विषयको टुङ्गो राजनीतिक प्रक्रियामा सामेल हुने क्रममा पुष्टि हुने बताउनुभयो । उहाँले आफूले संविधानको भावना विपरित रहेको ठहर गर्दै राजीनामा दिनु परेको बिदाई कार्यक्रममा बताउनु भएको थियो । अकल्पनिय राजनीतिक घटनाक्रमले नयाँ किसिमको ध्रुविकरण सिर्जना गर्दा मन्त्री पद त्यागेर नयाँ कोर्षका लागि तयार भएको मन्त्री घिमिरेको भनाई थियो ।
जिम्मेवारी सम्हाल्लेको दिनदेखि २ बर्ष १० महिना ९ दिनमा सामाजिक विकास मन्त्रालयले उल्लेखनिय काम गरेको मन्त्री घिमिरेले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै मन्त्री घिमिरेले अहिले मन्त्रालयको लयमा आएकोले आगामी दिन कर्मचारीहरुले जनमुखी भूमिका निर्वाह गर्नुहुने अपेक्षा व्यक्त गर्नुभयो ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मन्त्री पद जन्मदै लिएर आएको नभई अस्थायी हुने भएपनि कर्मचारी स्थायी सरकारका प्रतिनिधि भएको बताउनुभयो । उहाँले राजनीतिक सहि वा गलत भन्ने विश्लेषण गर्नुपर्ने अवस्था प्रधानमन्त्रीका कारण सिर्जना भएकोले मन्त्री पदलाई सामान्य रुपमा लिएर त्यसको निरुपण गर्ने अभियानमा सरिक भएको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको उच्च प्रशंसा गर्नु भएको थियो । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनिय कार्य गरेको, लोककल्याणकारी राज्य स्थापनाको क्षेत्रमा दिर्घकालिन योजनाप्रति लक्षित कार्यसम्पादन गरेको सचिव कार्कीको भनाई थियो ।
मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए । अढाई वर्षको अवधीमा सामाजिक विकास मन्त्रालयको कार्यसम्पादन मूल्यांकन प्रदेशका अन्य मन्त्रालयको तुलनामा उत्कृष्ट सावित भएको थियो । प्रदेश योजना आयोगले सार्वजानिक गरेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी अंक प्राप्त गरेको थियो ।