विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो ।
प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिसँग विप्लव समूहका कार्यकर्ताको दोहोरो फायरिङ खोलाखोल भएको बताउनुभयो । हामीले सर्च गर्ने क्रममा फायरिङ भयो, अनि हाम्रोतर्फबाट पनि फायरिङ भएको छ, डिआईजी कार्कीले आवर विराटनगरसँग भन्नुभयो–संलग्नहरुको खोजी कार्य जारी छ ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलिमाथि समूहका कार्यकर्ताले फायर खोलेपछि जवाफी फायरिङ खोलेको प्रहरीको दावी छ ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको प्रहरीको दावी छ । प्रहरीले समेत त्यस क्रममा दर्जन बढी गोली चलाएको बताइएको छ ।
प्रहरीले विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राई नेतृत्वको टोलि मैदानेमा लुकेर बसेको सूचना पाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको थियो ।