विराटनगर । विराटनगरमा नयाँ सडक पूर्वाधार निर्माण सुरु गरिएको छ । रानी–धरान व्यापारिक राजमार्ग अन्तर्गत रानी–विराटनगरसम्म पर्ने मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा नयाँ सडक निर्माणको काम सुरु गरिएको हो ।
विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलोमिटर सडकको निर्माणको काम औपचारिक रुपमा सुरुवात गरिएको हो । यसलाई विराटनगरको मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा परिभाषित गरिएको छ । विराटनगरको पश्चिम क्षेत्रका वडाहरुलाई सीमासम्म सहज पहुँच पु¥याउने लक्ष्यका साथ सडक निर्माणको योजना तयार पारिएको थियो ।
प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङको २९ करोड ६३ लाख ९ हजार ५६६ रुपिँया कुल लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केन्द्रभागमा ७ मिटर चौडाई स्पाल्ट कालोपत्रे गर्ने गरि जनकपुरस्थित देव एण्ड सायर आईएसएनबी जेभीसँग निर्माण सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनिले कुल लागतको ३२ प्रतिशत कम लागत कबोलमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको इन्जिनियर ठाकुरले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट निर्माण हुने सडक बहुवर्षे योजना अन्तर्गत राखिएको छ । यसको अनुगमन र निरीक्षण समेत पूर्वाधार विकास कार्यालय मोरङले गर्नेछ । प्रदेशमा चालु आर्थिकवर्षसम्मका योजनामा ६२ वटा बहुवर्षे सडक निर्माण प्रक्रियामा रहेका छन् ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनकुमार रेड्डीका अनुसार २०७७ असार ४ गते नै ठेक्का सम्झौता गरिएको सडक २०७९ साल असार ३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ । ठेकेदार कम्पनिले सम्झौता गरेको ६ महिनापछि सडकको औपचारिक शिलन्यास नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, प्रदेशसभाका सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आइतबार गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ६ करोड रुपिँया रकम बिनियोजन गरिएको छ ।
विराटनगर भित्र पर्ने मुख्यराजमार्ग पश्चिम सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरलाई समेत सडकमा स्तरोन्नती गर्ने काम भईरहेको छ । नहरदेखि अझै पश्चिमतर्फ नयाँ सडकको अवधारणा निक्कै अगाडीदेखि उठ्दै आएपनि प्रदेश सरकार गठनपछि बजेटको व्यवस्थापन गरिएको हो ।
यो सडकलाई तत्कालिन अवस्थामा जोगबनी भन्सारबाट औद्योगिक करिडोरमा छुट्ने मालवहाक सवारीको आवात–जावत व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो । तर, भन्सार कार्यालय नै विराटनगर–१८ बुधनगरस्थित आईसीपी क्षेत्रमा सरिसकेका कारण यात्रु आवागमनमा प्रयोग हुने देखिन्छ ।
शिलन्यास कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले तराईको नगदे बालि उखु किसानहरुको बाहुल्य क्षेत्र नजिक बन्ने सडकले किसानलाई धेरै राहत दिने धारणा राख्नु भएको थियो । सडक निर्माण क्षेत्रमा समेटिने वडाका अध्यक्षहरुले स्थानीयस्तरमा देखिएको समस्या समाधान गर्न सहयोग गरेर निर्धारित समयमै निर्माण सम्पन्न गर्न सहजीकरण गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।