नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन : किनारामा विराटनगरको संघ र संगठन

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन : किनारामा विराटनगरको संघ र संगठन

विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भयो । एशियाटीकमा उद्योगी–व्यवसायीका प्रतिनिधि निराश मुद्रामा हुँदा विराटनगरस्थित मोरङ व्यापार संघमा भने उद्योग संगठन मोरङका पदाधिकारीसहितको उपस्थितिमा उत्सव मनाईएको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले संघका अध्यक्ष प्रकाश मुन्दडालाई अंगालो मारेर उच्च अदालतले दिएको अन्तरिम आदेशले दुई संस्थाको जीत भएको घोषणा गर्नुभयो । तर, अदालती प्रक्रिया टुङ्ग्याउँदै दशदिनपछि झापा बिर्तामोडमा भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचनमा भने उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलाई नराम्रोसँग धक्का लाग्यो । संघको प्रदेश १ अध्यक्षमा उमेद्वारी दिने घोषणा गर्नु भएका संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उपाध्यक्षमा दर्ता गरेको उमेद्वारी समेत हाप्नु बाहेकको विकल्प रहेन ।

जिल्ला नगर उपाध्यक्षमा चारजनाले दर्ता गरेको उमेद्वारीमध्ये सबैभन्दा पहिला घिमिरेले नै फिर्ता लिदैं मोरङ व्यापार संघका उपाध्यक्ष नविन रिजाललाई छोड्नुभयो । झापाका कुमारमणी पोखरेलले समेत फिर्ता लिएपछि रिजाल सामु समेत फिर्ता लिनु बाहेकको विकल्प रहेन । त्यसपछि इटहरीका भीम पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको थियो । अध्यक्ष टिकाराज ढकालसहित अन्य पदमा सर्वसम्मत भईसकेको थियो ।

महासंघको निर्वाचन परिदृष्य बारे जानकारी दिदैं एक सदस्यले बताए अनुसार ७५ हजार रुपिँया खर्चेर नोमिनेशन गरिसकेपछि प्रतिनिधिले उपस्थित प्रतिनिधिमध्ये अधिकांशले सोझै इन्कार गरिदिएका थिए । सदस्यमा उमेद्वारी दर्ता गर्नेले ५० हजार बुझाउनु पर्ने थियो । मोरङ व्यापार संघका अनिल साहले त्यो रकम खर्चेर सदस्यमा उमेद्वारी दिएपनि प्रतिनिधिले मत दिने जनाउ नै नदिएका हुन् ।
उद्योगी–व्यवसायीको छाता संस्थामा यति बिघ्न राजनीति भने तत्कालिन मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाको पालादेखि नै सुरुवात भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष राउतलाई अध्यक्ष बनाउन गरिएको सम्झौता विपरित त्यहाँ भएको खेलामेला अहिले प्रदेश महासंघमा नराम्रोसँग प्रकट भएको एकथरीको भनाई छ ।

प्रदेश महासंघका उपाध्यक्ष राजेन्द्र राउतलाई केन्द्रीय सदस्यमा उमेद्वारी बन्नका लागि मोरङ व्यापार संघकोतर्फबाट प्रतिनिधि पठाउने र प्रदेश १ को अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलाई समर्थन गर्ने सम्झौता २०७७ कार्तिक २७ मा भएको थियो । त्यहि सम्झौता अनुसार मोरङ व्यापार संघले राउतलाई प्रदेश प्रतिनिधिको रुपमा केन्द्रीय सदस्य उमेद्वारी दिनका लागि प्रतिनिधि सिफारिस गरेको थियो । राउत महासंघको प्रदेश १ तर्फबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित समेत भईसक्नु भएको छ ।

प्रदेश महासंघको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ‘केमेष्ट्री’ मिलाउन उद्योगी राउतले फरक भूमिका त निर्वाह गर्नुपर्ने थिएन । तर, पूर्वसर्त अनुसार उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले प्रदेशको अध्यक्ष उठ्ने र त्यसको ब्यानर बोकेर हिड्नुपर्ने प्रस्ताव गरेपछि केन्द्रीय सदस्य राउत झस्केका थिए ।

मैले अध्यक्षमा उठ्दा मतदान गर्छु र भन्नुपर्ने ठाउँमा कुरा राखिदिन्छु भनेको थिएँ, महासंघका केन्द्रीय सदस्य राउतले भन्नुभयो–राजनीतिक पार्टी अध्यक्षको जस्तो ह्वीप लगाउन चाँहि सक्दिन थिएँ ।
उहाँले आफूले विराटनगरका लागि केहि र केहि स्पेस जोगाउने योजना राखेपनि त्यो सफल नभएको बताउनुभयो । निर्वाचन हुने भएपछि मतदाताले पक्ष नलिदाँ मनोनयनपछि फिर्ता गर्नुपर्ने अवस्था आएको थियोे, राउतले भन्नुभयो–म केन्द्रीय सदस्य भएर पनि महासंघको गरिमा बचाउन भन्दै साथीहरुले गरेको आग्रह अनुसार उपाध्यक्षमा बसेको छु । राउतले आफूले कसैलाई असर गर्ने गरि भूमिका निर्वाह नगरेको दावी गर्दै भन्नुभयो–उहाँहरुकै भूमिकाले अवस्था निर्धारण गरेको होला ।

यता उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने कुत्सित षड्यन्त्र र छलछाम गर्नेहरुको समूहमा पस्न नहुने सोच राखेर उमेद्वारी फिर्ता लिएको दावी गर्नुभयो । उद्योगी–व्यापारीले मौखिक रुपमै अर्बौंको कारोबार गरिरहेका हुन्छन्, घिमिरेले भन्नुभयो–लिखित सम्झौता गर्दा समेत त्यसको पालना भएन । घिमिरेले विधान विपरित साधारणसभा र निर्वाचन हुने भएका कारण यस अगाडी अदालतको सहारा लिनु परेको बताउनुभयो । उहाँले कुनै योजनामा नभई आवश्यकतामा अदालतमा अन्यायमा परेका सदस्यले रिट दायर गरेको दावी गर्दै भन्नुभयो–यस पटक पनि विधान विपरित नै साधारणसभा सम्पन्नभयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मतदाता एकतर्फी भएका कारण सहमति पालना नगरि पाखा लगाएको आरोप लगाउनुभयो । उहाँहरुलाई प्रदेश महासंघमा एकलौटी राज गर्ने ईच्छा जाग्यो, मुन्दडाले भन्नुभयो–यस्तो गरेर फाइदा कसैलाई हुँदैन । मुन्दडाले संघका सदस्य राजन श्रेष्ठ समेत आफ्नो संघकोतर्फबाट नभई उतैको सेटिङमा सदस्य भएको बताउनुभयो । झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेललाई चयन गरेको छ।

एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेशकुमार राठी चयन भएका छन्। जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटुवाल, वीरेन्द्रकुमार शाह र प्रितम खड्गी सर्वसम्मत चयन भएका हुन् । वस्तुगत सदस्यमा सुवास आचार्य र राजन श्रेष्ठ चयन भएका छन्। एसोसिएट्स सदस्यमा साधारण सभाले रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाललाई चयन गरेको छ। महासंघको प्रदेश–१ मा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन्। नवनिर्वाचित अध्यक्ष ढकालले प्रदेशमा देखिएका उद्योग वाणिज्य क्षेत्रका समस्या पहिल्याउने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्