विराटनगरका मन्टुको मिटरब्याजी धन्दा : ६५ हजारको १५ लाख बुझाउँदा समेत पाँचलाख बाँकी (विवरणसहित)

विराटनगरका मन्टुको मिटरब्याजी धन्दा : ६५ हजारको १५ लाख बुझाउँदा समेत पाँचलाख बाँकी (विवरणसहित)

विराटनगर । विराटनगर–९ घोघापुलचौकका मन्टु भनिने मिटरब्याजी सन्जयप्रसाद रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा १६ जना पीडितले जाहेरी दिएका छन् ।  पीडित भएका ६ जनाको लेनदेन मुद्दा जिल्ला अदालतमा विचाराधिन छ ।

जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका १६ पीडितलाई मन्टुले ८९ लाख ८८ हजार रुपैँया लगानी गरेका छन् । प्रहरीले गरेको अनुसन्धानमा २०६८ सालयता मन्टुले मिटरब्याजको कारोबार सुरु गरेको देखिएको छ । हालसम्म १६ जना पीडितलाई लगानी गरेको ८९ लाखबाट मन्टुले २ करोड ६४ लाख ३१ हजार रुपैँया असुलिसकेका छन् । अझै यी १६ जनाबाट असुल्न पर्ने दावी गरिएको रकम १ करोड ३६ लाख ४८ हजार रुपैँया देखिएको छ ।

प्रहरीले ठगी र आपराधिक लाभमा अनुसन्धान गरिरहेका मन्टुले २०७७ साल बैशाख ९ गते खगेन्द्रकुमार केवरतलाई २५ लाख रुपैँया लगानी गरेर ३३ लाख १० हजार रुपैँया असुलीसकेका छन् तर उनको नाममा अझै पाँचलाख रुपैँया बुझाउनु पर्ने देखाइएको छ । गत बैशाखमा २५ लाख रुपँैया ऋण लगानी गरेका मन्टुले आठ लाख रुपैँया ब्याज लिइएको देखिन्छ ।

यसैगरी सन्तोष कार्कीलाई ६५ हजार रुपैँया लगानी गरेका मन्टुले १५ लाख रुपैँया असुलेको देखिएको छ । २०६८ सालमा ऋण लिएका कार्कीले मन्टुलाई बुझाउन अझै पाँचलाख रहेको देखिन्छ । प्रहरीले उजुरी दिन आएका सबै पीडितको बयान र अनुसन्धानमा रहेका पीडक मन्टुसँगको बयानका आधारमा ऋण लगानी, ब्याज, मागदावी गरिएको रकमसहितको फेहरिस्त उतारेको हो ।

मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काका अनुसार अझै धेरै क्षेत्रमा अनुसन्धान जारी राखिएको छ । लेनदेनमा ठगी गरेको कारोबार बाहेक अन्य जग्गा जमिन हडेको विषय समेत मालपोतबाट खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
गत मंसिर २९ गते पक्राउ परेका मन्टु विरुद्धको अनुसन्धान र अदालती प्रक्रियालाई कमजोर बन्न नदिन हरतरहले प्रमाण जुटाउने काम भईरहेको प्रहरीले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्