दैनिक घट्दैछ विराटनगरको तापक्रम, अतिविपन्नलाई राहत योजना तयार गर्दै प्रशासन

दैनिक घट्दैछ विराटनगरको तापक्रम, अतिविपन्नलाई राहत योजना तयार गर्दै प्रशासन

विराटनगर । पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रदेश १ का तराईका जिल्लाहरु झापा, सुनसरी र मोरङमा ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको हो । मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको जनजीवन प्रभावित बनेको छ । त्यसका लागि स्थानीय तहले अहिले अतिआवश्यक परेका नागरिकलाई राहतका कार्यक्रम वितरण गर्ने काम सुरु गरिसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार अहिले पालिकास्तरमा आवश्यक व्यवस्थापनको काम भईरहेको छ । जिल्लास्थित प्रकोप व्यवस्थापन तथा उद्धार समितिले समेत राहत वितरणका लागि प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको निरौलाले बताउनुभयो ।
पालिकाले अतिआवश्यक परेका नागरिकको सुरक्षका लागि राहतका कार्यक्रमहरु सुरु गर्नुभएको छ, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–मोरङ प्रहरीले न्यानो कपडा वितरण गरिसकेको छ, अब जिल्ला प्रशासनले एकिकृत रुपमा पालिकास्तरमा आवश्यक राहतका सामाग्री वितरण गर्नेछ । त्यसका लागि आज तथ्यांक संकलन र विवरण बुझ्ने काम भईरहेको उहाँले बताउनुभयो ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, विराटनगरका प्रमुख विकास देउजाका अनुसार बुधबार १२ बजे अगाडीसम्म विराटनगरको तापक्रम १०.२ डिग्री रहेको छ । पछिल्लो दिनदिनयता यो सबैभन्दा कम सूचिकृत तापक्रम हो । मंगलबार न्यूनतम १२.२ देखि १७.४ र बुधबार न्यूनतम ११.८ देखि २०.४ डिग्री तापक्रम मापन भएको देउजाले बताउनुभयो ।
जल तथा मौसम विज्ञान पूर्वानुमान कार्यालय धरानका सहायक मौसम बिद् अखलेश चौरासियाका अनुसार सूर्य दक्षिणान् भएका बखत पृथ्वीको उत्तरी गोलार्ध चिसो बढ्नु स्वभाविक नै हुन्छ । तर, अहिले पश्चिमी न्यू चापीय प्रणालीमै प्रभाव पार्ने गरि भू–मध्य सागरमा आएको बाह्य ट्रोपिकल चक्रवातका कारण मौसममा परिवर्तन आएको हो ।

यो चक्रवातका कारण अहिले अफगानस्थान, पाकिस्तान र भारतीय उपमहाद्धिपको उत्तर–पश्चिम र नेपालमा त्यसको प्रभाव देखिएका छ । मौसम बिद् चौरासियाका अनुसार प्रदेश १ मा आगामी शुक्रबारसम्म यो मौसम यथावत् रहने अनुमान गरिएको छ । पहाडी भू–भागमा आशिंक तथा बदली हुनसक्छ, चौरासियाले भन्नुभयो–प्रदेश १ को तराई क्षेत्रमा शुक्रबारबाट मौसम सफा हुनेदेखिन्छ ।

कोशी अञ्चल अस्पतलाका मेडिकल सुपरिटेनडेन्ट डा.चुमनलाल दासका अनुसार चिसोका कारण ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा निक्कै प्रभाव पर्नसक्छ । दिर्घकालिन रुपमा दमका विरामी, ज्येष्ठ नागरिकमा स्वासप्रश्वासको समस्या तथा बालबालिकामा निमोनिया हुनसक्ने संभावना धेरै हुने मेसु दासको भनाई छ ।
कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा.लक्ष्मीनारायण यादवका अनुसार चिसो बढेसँगै दिर्घकालिन दमका रोगीको स्वास्थ्य सुरक्षमा विशेष जोड दिनुपर्दछ । यो बेलामा रुघाखोकी, दम, निमोनिया र चिसोका कारण हुनसक्ने सबै किसिमको एलर्जीको समस्या हुनसक्ने भएकोले न्यानोमा बस्नुपर्ने उहाँको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्