चिकित्सक संघ कोशीमा ‘अनुभवीलाई नेतृत्व’ को नारा

चिकित्सक संघ कोशीमा ‘अनुभवीलाई नेतृत्व’ को नारा

विराटनगर । तीनदिनपछि माघ ४ र ५ गते विराटनगरमा हुने नेपाल चिकित्सक संघ कोशीको निर्वाचनमा अनुभवीलाई नेतृत्वमा ल्याउनु पर्ने आवाज उठेको छ । दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहौल बढ्दै जाँदा चिकित्सकहरुबीच नै अनुभवीलाई नेतृत्व दिनुपर्ने चर्चा चुलिएको हो ।

यस पटकको निर्वाचनमा डा.कैलाश श्रेष्ठ र डा.फरवर्ड सिलवाल प्यानल निर्वाचनको मैदानमा छन् । १३ पदका लागि हुने निर्वाचनका लागि दुवै समूहका २६ जनाले मनोनयन दर्ता गराएका हुन् । डा.सिलवाल संघका वर्तमान अध्यक्ष हुन् । हक्की र निडर स्वभावका डा.श्रेष्ठ चिकित्सकबीच लोकप्रिय मानिन्छन् । पदमा रहेको बखत कोराना महामारीमा चिकित्सकको हकहितमा काम नगरेको आरोप वर्तमान अध्यक्ष सिलवाललाई लगाउँदै यस पटक चिकित्सकका लागि आवश्यक पर्दा सरकारसँग समेत जुध्नसक्ने व्यक्तिलाई अध्यक्ष बनाउनु् पर्ने नारा वरिष्ठक्रमबाट उठाइएको हो ।

संघका कतिपय पूर्व अध्यक्षहरुले समेत चिकित्सकको हकहित र अधिकार स्थापित गर्नसक्ने क्षमतावान् नेतृत्व आवश्यक पर्ने आवाज उठाउँदै आएका छन् । सरकारसँग पनि चिकित्सक क्षेत्रका समस्या लिएर ‘टेबल टक’ गर्नसक्ने क्षमता नेतृत्वमा चाहिन्छ भन्ने विषयलाई कतिपयले महत्व दिएका छन् ।
निजी अस्पतालहरुको बर्चश्व रहेको विराटनगरमा चिकित्सकले काम गरेको पारिश्रमिक नदिँदा समेत वर्तमान नेतृत्व मौन बसेको आरोप धेरैको छ । कोरोना संक्रमणका कारण धेरैले रोजगारी गुमाउनु परेको र काम गरेको समेत मासिक पारिश्रमिक कटौती गर्दा नबोलेको आरोप समेत डा.सिलवाललाई लाग्दै आएको छ ।
तर, डाक्टर सिलवाल भने आफ्नो कार्यकालमा चिकित्सकको हकहित नभएको भन्न नमिल्ने बताउनुहुन्छ । उहाँले इलाका प्रहरी इटहरीको प्रहरीले पक्रेर लगेका एकजना चिकित्सकलाई आफैंले गएर निकालेर ल्याएपनि अहिले उनैले अनावश्यक अफवाह फैलाउने गरेको आरोप लगाउनुभयो ।

कोरोना संक्रमणको समयमा निजी अस्पतालहरुले तलव नदिएको र सरकारले काममा लगाएर भत्ता नदिएको विषयमा आफूले गर्नसक्नेसम्म पहल गरेको सिलवालले बताउनुभयो । निजी अस्पतालमा काम गर्ने साथीहरुले लिखित उजुरी दिनु भएन, मौखिक गुनासोका आधारमा कुरा गर्नुपर्ने अस्पतालमा गरेका छौं, सिलवालले भन्नुभयो–हामी सबै चिकित्सक नै हौं, निर्वाचनमा जाँदा जित हाम्रो हुनेछ ।

डाक्टर सिलवालले आफ्ना विरुद्ध अर्को प्यानलबाट उपाध्यक्षमा उमेद्वारी दिएका डा.बालकृष्ण साहले अफवाह फैलाईरहेको बताउनुभयो । उनलाई प्रहरीबाट छुटाएर ल्याएको मैले नै हो, अहिले किन यति धेरै गरिराछन् थाहा छैन, सिलवालले भन्नुभयो–काम नगरेको भए संघप्रतिको आकर्षण बढ्ने थिएन, संघमा ३५० सदस्य संख्या बृद्धि भएर अहिले एक हजार २८१ जना पुगेको छ ।
संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता गराएका थिए । डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सहसचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा.सरबेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा.अविशेष चौधरी, डा.दिपक न्यौपाने, डा.निशा अधिकारी र डा.राजेश्वर यादव छन् ।

यता सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, उपाध्यक्षमा डा.यज्ञराज खरेल, महासचिबमा डा.राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा.सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।
संघको निर्वाचनमा १ हजार २८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउनेछन् । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्