विराटनगरको अधवनारायण मेमोरियल क्लिनिकमा महिलाको मृत्यु, चिकित्सक सम्पर्कबिहीन, पीडितद्वारा अस्पताल घेराउ

विराटनगरको अधवनारायण मेमोरियल क्लिनिकमा महिलाको मृत्यु, चिकित्सक सम्पर्कबिहीन, पीडितद्वारा अस्पताल घेराउ

विराटनगर । बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा पथरीया (स्टोन) भएको धेरै अगाडी थाहा भएको थियो । उपचारका लागि उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धाईरहेकी थिइन् । पित्तथैलीमा स्टोन भएको परीक्षणका क्रममा धरानमै थाहा भयो । अप्रेशनको मिति भने फागुनमा दिइएको थियो । तर, काम विशेषले अप्रेशनको हतारो परिवारमा थियो । कहिले काँही अचानक हुने दुखाईका कारण सजना पनि अप्रेशन गराईहाल्न चाहन्थिन् ।

गत पुस २८ गते उनीहरु बेलबारीकै एकजना व्यक्तिको सम्पर्कका आधारमा विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा पठाइए । धरानमै परीक्षण गरिएको रिपोर्टका आधारमा बिहान ९ बजे भर्ना गरिएकी राईको साँझ ५ बजेदेखि ९ बजेसम्म सर्जन निषेश सिटौलाको टिमले अप्रेशन ग¥यो ।
अप्रेशनपछि विरामीको अवस्था क्रिटिकल बन्दै गएको थियो तर उनलाई आवश्यक पर्ने अक्सिजनसहितको आईसीयू सुविधा अस्पतालमा थिएन । पुस २९ गते उनको मुटुको चाल निक्कै बढ्यो, सर्जन सिटौलासहितको टिमले उनलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गर्न नसक्ने अवस्था सिर्जना भयो ।

एक्कासी परिवारका आफन्तसँग भने–हामीसँग आईसीयू छैन, धरान रेफर गरिदिन्छौं उतै लैजानु । मृतकका आफन्त मनकुमार वानेमका अनुसार चिकित्सक तथा अस्पतालका व्यवस्थापन पक्षको टोलि आफैं अत्तालिरहेका थिए । अस्पतालको व्यवस्थापन टोलिले एकजना स्फाटको साथमा सजनालाई धरान पु¥याएर भर्ना समेत गरेर फर्कियो ।
तर, बिरामीको धरानमा शुक्रबार मृत्यु भएपछि अहिले पीडित बनेको परिवार आश्चर्यमा परेको छ । आफूलाई यहाँ पठाउने व्यक्तिले गलत अस्पतालको सिफारिस गरेको थाहा पाएपछि उनीहरुले शुक्रबारदेखि लगातार अवधनारायणमा अप्रेशन गर्ने चिकित्सकसँग बिरामीको मृत्युको कारण खोजिरहेका छन् ।


धरानमा विरामीको मृत्युपछि त्यहाँका चिकित्सकले सुविधा सम्पन्न अस्पतालमा भर्ना गरेको भए यस्तो अवस्था नआउने भन्दै उनीहरुलाई भनेका छन् । शल्याक्रियामा सहभागी हुने चिकित्सकले सावधानी नपनाएका कारण नर्मल अप्रेशनमा समेत बिरामीको ज्यान गएको धरानका चिकित्सकले भनेको वानेमले बताउनुभयो ।
शनिबार बिहानैदेखि उनीहरुले विराटनगर–७ स्थित अवधनारायण अस्पताल धेराउ गरेर बसेका छन् । बेलबारीबाट आएका आफन्त र छरछिमेकले डाक्टरसँग बिरामी मृत्युको कारण बारे जान्न चाहेको भन्दै अस्पताल घेराउ गरेका हुन् ।
अस्पतालको सुरक्षका लागि प्रहरी परिचालन गरिएको छ । नेपाल चिकित्सक संघ कोशीको पहलमा पीडित पक्षसँग वार्ता समेत गरिएको छ । आफन्त गुमाएका पीडितले अप्रेशनमा सहभागी भएका चिकित्सकसँग मृत्युको कारणपछि मात्रै अन्य विषयमा छलफल गर्न चाहेको वानेमले बताउनुभयो ।

पर्खेरै धरानमा अप्रेशन गर्नुपर्ने रहेछ, हामीलाई झुक्याईयो र हाम्रो आफन्तले अनाहकमै ज्यान गुमाउनु प¥यो आफन्त वानेमले भन्नुभयो–अहिले अप्रेशन गर्ने चिकित्सकसँग हामीले कुरा गर्न सकिरहेका छैनौं । चिकित्सक संघ कोशीका अध्यक्ष डा.फरवार्ड सिलवालले पीडित पक्षसँग अस्पताल प्रशासनले कुराकानी गरिरहेको बताउनुभयो । उहाँले चिकित्सक नै सहभागी भएर छलफल गर्ने वातावरण नभएको बताउनुभयो ।

डाक्टर निषेश भने विराटनगर अस्पताल (बिराट नर्सिङ) होममा कार्यरत थिए । उनले पैसाको लोभमा अवधनारायण मेमोरियलमा पुगेर विरामीको अप्रेशन गरेको विरामीको आफन्तको बुझाई छ । डाक्टरले संभव छैन, सुविधा सम्पन्न अस्पतालमा अप्रेशन गर्नु भन्न सकेको भए हामी सम्मान गर्ने थियौं तर पैसा आउँछ भनेपछि क्लिनिकमै अप्रेशन गर्ने अपराध गरेकोले सजाय हुनुपर्छ भन्ने माग उनीहरुको छ ।

अस्पतालका सञ्चालक अभिषेक कुमारले पीडितका आफन्तलाई आश्वस्त पार्न खोजेपनि उनीहरु चिकित्सककै उपस्थिति हुनुपर्ने अडानलाई अगाडी सारेका हुन् । अप्रेशनपछि आवश्यक पर्ने सेवा सुविधा थिएन भने हाम्रो बिरामी भर्ना नै लिनु हुने थिएन भन्ने कुरा पीडित पक्षले राख्दै आएका हुन् ।

अस्पतालका सञ्चालक अभिषेक कुमारलाई उनकै कार्यकक्षमा पीडितका आफन्तले शनिबार बिहानैदेखि जवाफ नदिदाँसम्म उठ्न नपाउने भन्दै रोकेर राखिरहेका छन् । चिकित्सक संघले अस्पताल प्रशासनको पहलमा छलफल गर्ने र निष्कर्ष निकाल्ने बताइएको छ ।
पीडित परिवारले भने कानुनी बाटो समेत खोज्ने बताएका छन् । तर, बिरामीको मृत्युको कारण थाहा पाउन उनीहरुले चिकित्सकसँगै कुरा गर्न चाहेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्