आफ्नै घरमा आगो लाग्यो, निभाउन व्यस्त छौं : मन्त्री कार्की

आफ्नै घरमा आगो लाग्यो, निभाउन व्यस्त छौं : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले प्रदेश सरकार विपद्को जोखिममा रहेको बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले घरभित्रै आगो बलिरहेको बताउनु भएको हो ।


प्राधिकरणले वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । त्यसको प्रमुख अथिति समेत रहनु भएका कार्कीले माघ ७ गते प्रदेशसभाको बैठक बोलाएको बेला घर भित्रैको आगो निभाईसक्नु पर्ने बाध्यतामा रहेकोले हतारो भएको बताउनु भएको थियो । कार्यक्रमको अन्तिमसम्म बस्न मन थियो तर आफ्नै घरमा विपद् छिरेको छ, त्यसलाई निभाउन लागिरहेका छौं, मन्त्री कार्कीले हस्यौली ढंगले भन्नुभयो–हामी उता निभाउँछौं, तपाँईहरु यता घनिभूत छलफल गर्दै रहनुहोस् बरु कार्यपत्र हामीलाई पठाई दिनुहोला ।

नेपाल कम्यूनिष्ट पार्टी विभाजितको अवस्थामा पुगेसँगै विकसित घटना क्रमले प्रदेश सरकारमा समेत हलचल बढिरहेको छ । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्र्ता गरेसँगै दुई समूहबीच कारवाही गरागरसम्मको अवस्थामा बुधबारदेखि प्रदेश संसदको अधिवेशन बोलाइएको छ । त्यस अगाडी नै मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फेल गराउने तयारीमा ओली समूह रहेको छ भने प्रचण्ड–माधव समूह जसरी पनि मुख्यमन्त्रीलाई हटाउने लाइनमा छ । त्यस्तै बेला संयोगले परेको कार्यक्रममा मन्त्री कार्कीले भने गज्जबले ठट्यौली गर्नु भएको थियो ।

प्रशासन तथा सुरक्षाको क्षेत्रमा क्रियाशिल सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रम मन्त्री कार्कीले प्राकृतिक र मानव निर्मित विपद्का कारण धनजनको क्षति वर्षेनी बढ्दो रहेको बताउँदै त्यसलाई रोक्नसक्ने दिर्घकालिन योजना आवश्यक रहेको बताउनु भएको थियो । उहाँले स्थायी किसिमका संरचना निर्माणका योजनाले मात्रै वर्षेनी हुने विपद्को जोखिमलाई न्यूनीकरण गर्नसक्ने दावी गर्नुभयो ।

प्रदेश १ मा मात्रै पछिल्लो दशवर्षमा पहिरोबाट १४५ जना, बाढीबाट १४२, भारीवर्षा २ जना, आगलागीबाट ११८, चट्याङबाट २८७ जना, हावाहुरीबाट ११ जना र जनावरको आक्रमणबाट १६ जनाको ज्यान गईसकेको तथ्यांक छ । अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित जिल्ला प्रशासन कार्यालयहरुका प्रतिनिधिहरुको सहभागी रहेको छ । प्राधिकरणका नीति तथा कार्यक्रम र आगलागी प्रतिकार्य तथा व्यवस्थापनको विषयमा सहभागीहरुकाबीचमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्