विराटनगरको इतिहास बोकेको हिमालय हल संकटमा

विराटनगरको इतिहास बोकेको हिमालय हल संकटमा

एन्जु शिवाकोटी
विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र निमार्ण हुन थालेको थियो । सिनेमा हेर्नु पाउनु सबैका लागि नौलो र खुसीको कुरा थियो । सुरुका दिनमा हलमा निकै भिड हुने गथ्र्यो । तर, त्यती बेला सिनेमा हेर्न आउने महिलाहरुको उपस्थिति भने ज्यादै कम हुने गथ्र्यो । महिलाहरु आकलझुकल सिनेमा हेर्न आउने गरेको पाइन्थ्यो ।

सिनेमा हेर्न आउने महिलाहरुलाई राम्रो पनि मानिदैन थियो, ७६ बर्षीया चन्द्रिका रजकले आफ्नो अनुभुती सुनाउँदै भन्नुभयो–विराटनगरमा हल खुल्दा म २४ बर्षको थिए । चारजना मिल्ने साथीको समुह बनाएर आठ आनामा टिकट काट्थ्यौं र फिल्म हेर्ने गरेका थियौं । प्रविधिको अभावमा हल सञ्चालन झन्झटिलो थियो । हिमालय हल सञ्चालनमा आउँदा भारतको कलकत्ताबाट महंगो मूल्यमा प्रोजेक्टर किनेर ल्याउनु पर्ने बाध्यता थियो । कार्बन रड हालेर प्रोजेक्टर चलाइन्थ्यो र ठूलो पर्दामा देखाइन्थ्यो ।

सिनेमा प्रदर्शन गर्न झनझटिलो थियो । एक पटक देखाइ सकिएको चलचित्र फेरी देखाउनु पर्दा रिललाई फिर्केमा राखेर घुमाउनु पथ्र्यो । प्रोजेक्टर बिग्रिएमा बनाउन समय लाग्ने भएकाले हल महिना दिनसम्म पनि बन्द हुने गर्दथ्यो । केही समय शनिहाटबाट सञ्चालनमा आएको हिमालय हल महेन्द्र चौकस्थित हिमालय रोडमा सर्यो । कार्बन रडको प्रयोग गरी प्रोजेक्टरबाट सिनेमा सञ्चालन गरिने प्रविधिलाई हटाई डिजिटल सिस्टमबाट सञ्चालनमा आउन थाल्यो ।

हालको हिमालय हल : हिमालय रोडमा सरेको हिमाल हल हाल ८ सय ३६ सिट क्षमताको छ । हलले हप्ताको ६ दिन नयाँ रिलिज भएका चलचित्रहरु दैनिक १२,३ र ६ बजे गरी तिन पटक चलचित्र प्रदर्शन गर्ने गरेको हिमालय हलका कर्मचारी गङगा घिमिरेले बताए । हिन्दी नेपाली, अंग्रेजी र भोजपुरी भाषाका चलचित्र पर्दामा देखाइने गरेको उनले जानकारी दिए । उनले भने,‘ डिजिटल सिस्टमको प्रयोग गरेर सिनेमा देखाउन त थालियो तर यो पुरानो प्रविधिको छ । उच्च प्रविधियुक्त छैन यहाँको प्रविधि र साउण्ड सिस्टम पनि आधुनिक छैन । ऐतिहासिक सिनेमा हलको रुपमा रहेको हिमालय हलले महेन्द्र चोकको पहिचान बोकेको छ । हिमालय हलमा कहिलेकाहीँ चलचित्र हेर्न आउने दर्शकको भिड थाम्न गाह्रो हुने गरेको त कहिले कोही नआउँदाको घाटा बेहोर्नु परेको अनुभव सुनाउछन् केही समय हलको व्यवस्थापन सम्हालेका सुदिप केसी । उनी भन्छन्,‘ मेरो कार्यकालमा सबै भन्दा लामो समय चलेको चलचित्र कोहिनुर हो, कोहिनुर १५ दिनसम्म चलेको थियो । बढी दर्शकले रुचाएको चलचित्र बाहुबली थियो ।’

अरु अत्याधुनिक खुले, हिमालय हल ओझेलमा : परम्परागत सुविधा मात्रै रहेको हिमालय हल आधुनिक सुविधा सम्पन्न हल खुलेपछि ओझेलमा परेको छ । सिटि सिनेमा, सेन्टर मल र भाटभटेनी जस्ता व्यवसायिक भवनमा आधुनिक सुविधा सम्पन्न सिनेमाहल सञ्चालनमा आएपछि दर्शकहरु हिमालय हल जान छोडेका छन् । कुनै समय विराटनगरलाई रंग क्षेत्रमा जोडेर मनोरञ्जन गराउने सिनेमा हलको रुपमा रहेको हिमालय हल अबका दिनमा त्यहि स्वरुपमा सञ्चालन भईरहला भन्न सकिने अवस्था छैन ।
विराटनगरमा अन्य सुविधा सम्पन्न हलहरुको सञ्चालमा आएसंगै विराटनगराको हिमालय हल ओझेलमा परेको त छदै थियो कोरोना भाइरस महामारिका कारण हिमालय हल बन्द भएसँगै अझ संकटमा परेको छ । पुस १० गतेबाट पूर्ण हलहरु सञ्चालनमा आएता पनि दर्शकको कमीले सन्तोसजनक भने हुन सकेको छ्रैन् । त्यसैपनि घाटा व्यहोरिरहेको हिमालय हल अझ बढी संकटमा परिरहेको छ । भोलिका दिनमा हिमालय हलले संकटमा परेको अस्तित्वलाई जोगाउन सक्ला ? प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्