पूर्वमा प्रहरीको कारवाही र अभियान : छ महिनामा ३ हजार ३१४ मुद्दा, १८ करोड राजश्व

पूर्वमा प्रहरीको कारवाही र अभियान : छ महिनामा ३ हजार ३१४ मुद्दा, १८ करोड राजश्व

विराटनगर । पूर्वमा लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी सक्रिय रहेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अर्धवार्षिक अवधीको तथ्यांक अनुसार पछिल्लो समय लागुऔषधका घटनामा संलग्नतासँगै प्रयोगकर्ताहरुको संख्या निक्कै बढेको पाइएको हो । प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ११६४ ग्राम ब्राउनसुगर बरामद गरेको छ । यसैगरी ३३६.३१२ केजी गाँजा बरामद भएको छ ।

त्यस बाहेक बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । यसैगरी मनोद्धिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ । प्रहरीले यहिबीचमा यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरेको तथ्यांक सार्वजानिक गरेको छ ।
चालु आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्दा प्रदेश १ अन्तर्गतका १४ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । यहि अवधीमा प्रहरीले १८ करोड भन्दा बढी राजश्व संकलन गरेको जानकारी दिइएको छ ।


अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन गरिएका कारण राजश्व संकलनमा उल्लेख्य सफलता हाँसिल भएको दावी प्रहरीले गरेको छ । आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३१४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही चलाइएको छ । यसैगरी फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी ५३६ बर्ष कैद भुक्तान भई , १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको हो ।

भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिसलाई पक्राउ गरिएको छ । यसैगरी चोरी निकासीतर्फ ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ बराबरको सामान बरामद गरि राजश्व संकलन भएको छ । नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ११९ जना मानिस र ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट.काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ । ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्