सरकारी जग्गा हडपेको अभियोगमा झापाका गगन पुरी विरुद्ध विशेष अदालतमा मुद्दा

सरकारी जग्गा हडपेको अभियोगमा झापाका गगन पुरी विरुद्ध विशेष अदालतमा मुद्दा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता गगन (रेवतराज) पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । झापा दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरी समेत प्रतिवादी बनाइएको छ । सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८।८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष विभागले निकालेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२।२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ ।

संगीता र कृष्णकुमारीको हकमा बिर्तामोडमा रहेको ७ रोपनी १ आना जग्गा जफत गर्नुपर्ने भनिएको छ । संगीता र कृष्णकुमारीको नाममा जग्गा भए पनि वास्तविक धनी रेवतराज भएको विभागको अनुसन्धानले देखाएको छ । पुरीको नाममा जग्गा पार्न सहयोग गर्ने अन्यविरुद्ध पनि विभागले अनुसन्धान जारी राखेको स्रोतले बताएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले राजनीतिक पृष्ठभूमिको फाइदा उठाउँदै सरकारी कागजात कीर्ते गरेर दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा हत्याएको पाइएको थियो ।
प्रहरीले चलाएको कीर्ते मुद्दामा अदालतबाट ७ चैत २०७६ मा धरौटी तिरेर उनी छुटेका थिए । यद्यपि, प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । विभागले ९ मंसिरमा उनलाई पक्राउ गरेर अुकत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्