विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क्षति पु¥याएका हुन् ।
बन्दकर्ताले रोडशेष चौकमा विराटनगर आईसीपीको परामर्शदाता भारतीय कम्पनि राईट्सको डिसी–१०–सिजे–४४४८ नम्बरको गाडी बिहान ११ः१५ बजे तोडफोड गरेका छन् । नेपाल–भारत सहयोगमा प्राप्त उक्त गाडी तोडफोड गर्ने एकजना विद्यार्थी विपुल चौधरीलाई प्रहरीले पक्राउ समेत गरेको छ । आईसीपी क्षेत्रबाट विराटनगर आउने क्रममा रोडशेषमै गाडी तोडफोड गरिएको थियो ।
यसैगरी विराटनगर शनिमन्दिर नजिक दुईवटा मालवहाक सवारीमा बन्दकर्ताले तोडफोड गरेर क्षति पु¥याएका छन् । नेकपा महानगरका इन्चार्ज शिवकुमार मण्डलको नेतृत्वमा रहेको बन्दकर्ताको समूहले बिआर–१०–जीए ९७६० र यूपी–२१–बिएन–१५१३ नम्बरको मालवहाक ट्रकको सीमा फुटाएका हुन् ।
त्यहाँ टायर बाल्ने क्रममा बन्दकर्तालाई रोक्न खोज्ने एकजना प्रहरीलाई धक्कामुक्का समेत गरिएको थियो । विराटनगर–६ का वडा अध्यक्ष विजय कामतले प्रहरीलाई धकेल्दै टायर बालेको स्थानबाट पछाडी सारेका थिए । प्रहरीले कामतलाई कुनैपनि बेला नियन्त्रणमा लिनसक्ने स्रोतले बताएको छ ।
यसैगरी तीनपैनीमा स्वास्थ्य तालिम केन्द्र धनकुटाको बा १ झ ९११८ नम्बरको बोलेरो गाडीको पछाडीको सीसा बन्दकर्ताले फुटाएका छन् । त्यस क्रममा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ ।
मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित पाँच जनालाई केही बेर अघि पार्टी कार्यालयबाटै पक्राउ गरेको छ । प्रहरीले महानगर संघर्ष समितिका सहसंयोजक मिरा दाहाल, विराटगनर महानगरपालिका ६ कि वार्ड सदस्य (जनप्रतिनिधि) चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई पक्राउ गरेको हो ।
बन्दकर्ताको अर्को समुहले बा १६ च ४४०४ नम्बरको कार जनआन्दोलन चौकमा फुटाएका छन् । झापाबाट न्यूरो अस्पतालसम्म आएकाहरुले कार लिएर आएको बुझिएको छ ।
यसैगरी आन्दोलनकारीले विराटनगर महानगरपालिका अगाडीको चिया–चमेना होटलका खानेकुरा फ्याँकी दिएका छन् । बन्द गर्न नम्रभएर आग्रह गर्दा तातो तेल आन्दोलनकारीलाई लक्षित गरेर हानेपछि उनीहरुले तेल तताईरहेको ताईसहित खानेकुराहरु सडकमा फ्याँकी दिएको बताएका छन् ।