बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यो प्रस्ताव टेवल हुन सकेको छैन । गएको माघ ७ मा तीन मिनेट बसेर बैठक स्थगित भएको थियो ।
आइतबार ओली समूहका नेताहरुले निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । प्रचण्ड–माधव समूहका नेताहरुले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा नछोड्दा अनिश्चित बनेको हो ।
बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् । कुरा मिल्न नसक्दा २ बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभा सदस्य इन्द्र आङ्बोले सरकारले आफैं बोलाएको संसद विधिवत रुपमा सञ्चालन गरेर दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गराउनु पर्ने बताउनुभयो ।