मोरङमा बलात्कारका घटना : संलग्न पक्राउ गर्न सफल नै छ प्रहरी

मोरङमा बलात्कारका घटना : संलग्न पक्राउ गर्न सफल नै छ प्रहरी

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ राजबंशी टोलकी बालिकामाथि सोमबार राती दुईजनाले जर्बरजस्ती करणी गरेका छन् । घटनामा संलग्नको पहिचान खुलेपनि उनीहरु भने पक्राउ परेका छैनन् । घटनामा संलग्न दुईजना युवाले बालिकालाई घरबाटै उठाएका थिए । घरमा रहेको अवस्थामा बालिकालाई मोटरसाइकलमा राखेर लगिएको र रानी भेडियारीमा पुगेपछि पालैपालो करणी गरिएको आरोप पीडित पक्षले लगाउँदै आएका हुन् ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घटनामा संलग्नको पहिचान भईसकेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर सेफ हाउसमा सुरक्षित गरिएको छ । घरबाटै उठाएर अपहरणको शैलीमा नै लगिएको भन्ने विषय अनुसन्धानकै प्रक्रियामा रहेपनि बालिकामाथि जर्बरजस्ती करणी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनापछि दुईजना युवाले प्रयोग गरेको मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छ । फरार रहेका दुवैजनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । विशेष टोलि परिचालन गरेका छौं, उपरीक्षक खड्काले भन्नुभयो–संलग्नहरुको पहिचान भईसकेकोले पक्राउ गर्न असजिलो छैन ।

यसैगरी पूर्वी मोरङकी एक किशोरीलाई समेत नसालु पदार्थ खुलाएर कानेपोखरी–२ का प्रेम चौधरीले बलात्कार गरेको घटना बाहिरिएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । १७ वर्षीया किशोरीको स्वास्थ्य परीक्षणसँगै उनको कोसी अस्पतालमा उपचार गराइएको छ । गत बिहीबार रातीको घटनापछि प्रहरीले आरोपित चौधरीलाई आइतबार पक्राउ गरेको थियो ।
पछिल्ला यी दुई घटना गम्भीर प्रकारका अपराधिक मानिएका छन् । प्रहरीले दुवै घटनालाई विशेष ढंगले अनुसन्धान सुरु गरेको दावी गरेको छ । तर, प्रहरीले जहदाको घटनामा संलग्नहरुलाई जसरी पनि पक्राउ गर्ने लक्ष्य राखेको छ ।
जहाँ गएनी उम्कन दिदैनौं, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–नेपाल वा भारत हामीले टोलि परिचालन गरिसकेका छौं । घटनामा संलग्नहरुको पहिचान भईसकेका कारण त्यहि योजना अनुसारको प्रहरी परिचालन गरिएकोले पक्राउ पर्नेमा आफू विश्वस्त रहेको एसपी खड्काले दावी गर्नुभयो ।

संलग्न पक्राउ गर्न सफल नै छ प्रहरी
मोरङमा चालु आर्थिक वर्षको चालु सिजनसम्म जर्बरजस्ती करणी उद्योगका १६ मुद्दामा १६ जनानै पक्राउ परिसकेका छन् । मोरङमा जर्बरजस्ती उद्योगका १६, जर्बरजस्ती करणीका ५५ र अप्राकृतिक हस्तमैथुनको एउटा घटना भएको छ । प्रहरीले मुद्दा दर्ता भएका केसहरुमा संलग्नलाई पक्राउ गरि कारवाही अगाडी बढाईसकेको उपरीक्षक खड्काले बताउनुभयो ।
मोरङमा गतवर्ष जर्बरजस्ती करणीका ९२ मुद्दामा ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । यसैगरी जर्बरजस्ती उद्योगका ५२ घटनामा ४८ जनालाई नियन्त्रणमा लिइएको थियो । यसैगरी अप्राकृतिक मैथुनका दुई घटनामा सलंग्न दुईजना नै पक्राउ गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्