रंगेली अस्पताललाई ५० शै्यामा स्तरोन्नती गरेर प्रदेश सरकार मातहतमा ल्याईने

रंगेली अस्पताललाई ५० शै्यामा स्तरोन्नती गरेर प्रदेश सरकार मातहतमा ल्याईने

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको रंगेली अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १५ सैय्याको उक्त अस्पताललाई ५० सैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पताललाई स्तरोन्नती गरेर प्रदेश सरकारको मातहतमा ल्याउन स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

रंगेली नगरपालिकाको मातहतमा रहेर सञ्चालन गरिंदै आएको अस्पताललाई स्तरोन्नति गर्न नगरपालिकाको सिफारिस बमोजिम संघीय सरकार समक्ष सिफारिस गरेर पठाइएको हो । विगतमा रंगेली नगरपालिका मातहतमा रहेको १५ सैय्याको अस्पताललाई नगरपालिकासमेतको सहमतिमा ५० सैय्यामा स्तरोन्नति गरिने भएको छ ।
अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारको समेत सिफारिस चाहिने भएकोले मन्त्रिपरिषद्बाट निर्णय गरिएको छ । रंगेली नगरपालिकाको मातहतमा रहेको अस्पताललाई नगरपालिकासमेतको सहमतिमा ५० सैय्यामा स्तरोन्नति गरिने प्रवक्ता कार्कीले बताउनुभयो । त्योसँगै प्रदेश सरकारको मातहतमा रंगेली अस्पताल आउने भएको छ । नेपाल सरकारको अनुमतिका लागि स्थानीय तहको सिफारिस बमोजिम प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

अस्पताल व्यवस्थापनले २०७६ फागुनमा रंगेली अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न माग गर्ने निर्णय गरेको थियो । अस्पतालका मेसु डा.रोहेन्द्र पाँडेका अनुसार ५० बेडको बनाउन आवश्यक पर्ने पूर्वाधार र बिरामीको चाप पुगेकोले सिफारिस गरिएको जानकारी दिनुभयो । त्यसका लागि हालको जनशक्ति भने अपुग हुने भन्दै चिकित्सक तथा अन्य जनशक्ति थप गर्न पनि माग गरिएको छ ।
रंगेली अस्पतालबाट जिल्लाका दक्षिणवर्ती रंगेलीसहित रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, धनपालथान गाउँपालिका र कानेपोखरी गाउँपालिकाका केही भाग र सीमावर्ती भारतीय गाउँका नागरिकले स्वास्थ्य सेवा पाउँदै आएका छन् ।
अस्पतालको स्तरोन्नतिको काम चालु आर्थिक वर्षको सुरुवातमै अघि बढ्ने भनिएपनि कोरोना महामारी लगायतका कारणले रोकिएको मेसु पाँडेले बताउनुभयो । अस्पतालमा २८ जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दीका एक जना पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू छैनन् ।

हाल अस्पतालमा मन्त्रालयको करारमा पठाएका एक जना विशेषज्ञ डाक्टर र एक जना डेन्टल डाक्टर रहेका छन् । त्यसैगरी विकास समितिबाट ५ जना मेडिकल अधिकृत र एक जना विशेषज्ञ डाक्टर कार्यरत रहेको जनाइएको छ । विकास समिति अन्तरगत ४४ जना कार्यरत रहेका छन् । जसमध्ये ३८ जना करार र ६ जना ज्यालादारीमा रहेक छन् ।
रंगेली अस्पतालमा स्वास्थ्य जाँचका लागि दैनिक डेढ सयको संख्यामा आउने गरेको जनाइएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ब्लड बैंक, अपरेसनसहितको प्रसुति सेवा, सुरक्षित गर्भपतन सेवा र स्वास्थ्य विमा कार्यक्रम लागु रहेको छ ।

प्रदेश सरकारले दुई सय सैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति र नवीकरण गर्ने प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकेको छ । मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट गत असोजमै प्रदेशलाई हस्तान्तरण गरेको उक्त अधिकारको प्रयोग गर्न मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यस्तो स्वीकृति र नवीकरणको जिम्मेवारी दिनेबारे अहिलेसम्म प्रदेशमा नीति नबनेका कारण सरकारले निर्णय गरेर मन्त्रालयलाई दिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्