प्रधानमन्त्रीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै चपली फिर्ता

प्रधानमन्त्रीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै चपली फिर्ता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै आफ्नै घर चपलीमा फिर्ता हुने दावी गर्नुभएको छ ।
नेपाली काँग्रेस विराटनगर समितिद्वारा आयोजित विचार गोष्ठिमा बिहीबार आफ्ना धारणा राख्दै नेता थापाले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास रहेकोले त्यसपछि राष्ट्रपति शितल निवासबाट चपली फर्कनुपर्ने बताउनु भएको हो ।

संविधान सनकको शिकार भएको छ, नेता थापाले भन्नुभयो– सनकको शिकार भएको संविधानका आधारमा गराउने निर्वाचन ‘सेटिङ’ को शिकार हुनेछ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली उपद्रे केटाकेटी जस्तो भएको बताउँदै संसद बिघटन गरेर घोषणा गरिएको निर्वाचनलाई संविधाले नचिन्ने बताउनुभयो । काँग्रेस संविधानले चिन्ने निर्वाचनमा मात्रै सहभागी हुन्छ, थापाले भन्नुभयो–बैशाख १७ र २७ गते निर्वाचन भए, पुनः कहिल्यै विराटनगर फर्केर आउने छैन ।

उहाँले निर्वाचन गराउन घोषणा गरिएको नभई ‘सेटिङ’ मिलाउन मात्रै मिति तय भएको बताउनुभयो । संवैधानिक निकायका प्रमुखमा असंवैधानिक नियुक्ति गरिएको बताउँदै थापाले–प्रधानमन्त्रीको सनकले व्यवस्था जोगाउने आन्दोलनमा सबैले संलग्न हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतसँग अहिलेसम्म नेपाली काँग्रेसले भर गरेर बसिरहेको बताउँदै यदि प्रधानमन्त्रीको कदमलाई सदर गरिदिएपनि काँग्रेसले त्यसलाई असंवैधानिक नै भन्ने बताउनुभयो । नेता थापाले नागरिकको अवस्था बुझ्नुपर्ने समयमा व्यवस्थाको रक्षा गर्न सडकमा आन्दोलित हुनुपर्ने स्थिति प्रधानमन्त्र ी र राष्ट्रपतिका कारण सिर्जना भएको आरोप लगाउनुभयो ।
‘कानुनको साँघुरो किल्ला भित्र न्यायको हत्या नहोस्’ भन्ने पक्षमा नेपाली काँग्रेस छ, नेता थापाले भन्नुभयो–प्रधानमन्त्री र राष्ट्रपतिको ‘सेटिङ’ मा संविधानको हत्या भयो, यसको जीवन अदालतले भर्नुपर्दछ ।

नेता थापाले रामकुमार झाँक्रीलाई राष्ट्रपति कार्यालय विरुद्ध बोलेका आधारमा नियन्त्रणमा लिनु निरंकुशताकै उपज भएको बताउनुभयो ।
नेपाली काँग्रेस महानगर समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रचण्ड–माधव नेपाल समूह मात्रै सडकमा निस्किदाँ प्रधानमन्त्री घेरिसक्नु भएको बताउँदै काँग्रेस निस्केका दिन बालुवाटार छोड्नुपर्ने अवस्था आउने जिकीर गर्नुभयो । सरकारमा बसेर देशभर गरिने प्रायोजित सभालाई नेकपाकै अर्को समूहले गरेको जनसभाले जवाफ फकाईसकेको बताउँदै प्रधानमन्त्रीले कदम सच्याउन पहल लिदाँ नै श्रेयकर हुने धारणा राख्नुभयो ।

अर्का युवा नेता प्रदिप पौडेलले राजा हुँदा ज्ञानेन्द्र शाहबाट दिक्षित कानुन व्यवसायले प्रधानमन्त्रीको कदमलाई सहि भनिरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेस अहिलेको कदमको विषयमा प्रष्टसँग बोलिसकेको बताउँदै अदालतसँग भर परेका कारण सडकमा निस्किनसकेको बताउनुभयो ।
कानुन एवं संविधान विद् डा.विपिन अधिकारीले लोकतन्त्रको पक्षमा उभिने राजनीतिक दलले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिपक्षी सशक्त नहुँदाको मौकामा सरकार पक्षले संविधान विपरित काम गरेको बताउँदै संसद नभएपछि सडकमार्फत आफ्ना आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्